काठमाडौं, असोज २८ । संसदीय सुनुवाइ समितिले जापान र मलेसियाका प्रस्तावित राजदूतको सुनुवाइ होल्ड गरेको छ । छानविनबिना सुनुवाइ गर्न नसकिने निश्कर्षका साथ संसदीय समितिले सुनुवाई नै रोकेको हो ।
समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ पनि रोक्ने गृहकार्य अघि बढाएको छ । जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि समितिमा उजुरी परेको थियो । दुवै जनाले समितिमा आफ्ना कार्ययोजनासमेत पेश गरिसक्नुभएको छ । तर समितिले उजुरी निकै गम्भीर रहेको भन्दै छानविन अघि बढाउने निर्णय गरेको हो ।
समितिमा साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरूद्ध पनि उजुरी परेको छ । गम्भीर आरोपसहित उजुरी परेपछि सुनारको सिफारिससमेत रोक्ने गृहकार्य अघि बढाइएको समितिले जनाएको छ । समितिले उपसमिति गठन गरी तीनै जनाको उजुरीमाथि थप प्रमाण संकलन गर्ने तयारी गरेको छ ।

सुनुवाई समितिले यो निर्णय लिएसँगै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गरेको निर्णय र मेरिटप्रति नै कडा प्रश्न उठेको छ । सरकारको भनाई र गराई ठीक बिपरित छ भन्ने सत्यलाई पनि यो घटनाले उजागर गरिदिएको छ ।
यस्तो छ थापाविरूद्ध उजुरी
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरूद्ध जापानको स्थायी आवासीय अनुमति रहेको उजुरी छ ।उजुरीकर्ताले राजदूत पदका लागि जारी गरेको पूर्वयोग्यतामा कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति प्राप्त गरेको हुनु नहुने स्पष्ट योग्यता तोकेको उल्लेख गरेका छन्।
थापाले सन् २०१८ मा जापानको एक पत्रिकालाई आफूसँग पिआर रहेको र त्यसपछि जापानमा बस्दै आएको बताउनु भएको थियो । सोही अन्तवार्ता थापाका लागि राजदूत बन्न नसक्ने काफी प्रमाण हो । थापाको जापानको कानागवा प्रिफेक्चरमा घर समेत रहेको उल्लेख छ ।

’उहाँले स्थायी आवासीय अनुमति प्राप्त गरेको मिति, त्यसको वर्तमान अवस्था तथा उम्मेदवारी÷आवेदन पेश गर्दा उक्त विवरण खुलाइएको थियो वा थिएन भन्ने विषयमा आधिकारिक कागजातसहित स्पष्ट छानबिन गरियोस्,’ उजुरीकर्ताले माग गरेका छन । उजुरीकर्ताले थापाले जापान सरकारबाट राजदूतका रूपमा स्वीकार नहुने सम्भावना समेत औंल्याएका छन ।
थापा आफैले जापानमा घर रहेको बताउनु भएको, घरजग्गा, व्यावसायिक संलग्नता, आर्थिक लगानी र बैंकिङ दायित्व भए नभएको पनि परीक्षण गर्न उजुरीकर्ताले माग गरेका छन्। अर्का एक उजुरीकर्ताले भने थापाको नागरिकता समेत हेर्नुपर्ने माग गरेका छन । उनको परिवार नेपालमा बसोबास गर्छ कि गर्दैन पनि हेर्नुपर्छ भन्ने उनको माग छ ।
खरेलबिरुद्ध के छ उजुरी ?
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि राजदूत बन्नकै लागि आर्थिक लेनदेन गरेको आरोप छ । खरेलमाथि मेनपावर व्यवसायी विजय मिश्रको एडभान्जर ओभरसिजबाट राजदूत भएर काम गर्छु भनेर करिब २ करोड लिएको उजुरी छ ।
यस्तै विजय मिश्रले उपलब्ध गराएको बा २० च ५३९ नम्बरको कालो रङको टोएटा rav ४ गाडी चढ्ने गरेको, मलेसियामा एनआरएन पूर्वअध्यक्ष दयाराम कुमालको कम्पनीको नेपाल प्रमुख एजेण्ट भइ कार्य गरेको उजुरी छ ।

साथै सो कम्पनीसँग मलेसियामा कामदार लैजानेबारे सम्झौतासमेत गरेको, योगा महासंघ नेपालको महासचिव भइ कार्य गरेको बेला संस्थाको लाखौं रुपैयाँ बेरुजु एवं घोटाला गरेको खरेलमाथि उजुरी छ । यस्तै पोखरामा सार्वजनिक वनको जग्गा मिलाइदिन्छु भनी करोडौं रुपैयाँ ठगी गरेको, तराई जनकपुर क्षेत्रमा जग्गा घोटाला काण्डमा मुछिएकोलगायत पनि आरोप छ ।
सुनारमाथिको आरोप निकै गम्भीर
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरूद्ध भने गम्भीर उजुरी परेको छ । उनीविरूद्ध महिलामाथि यातना दिएको तथा हिसां गरेको उजुरी परेको छ । उजुरीकर्ताले प्रेम सम्बन्धमा रहेर छुटेकी महिला र उनको परिवारलाई सुनारले धम्की दिएको भन्दै उजुरी दिएकी छन ।
उजुरीकर्ताले उक्त घटनामा दुई पटकसम्म सुनारले ललितपुर प्रहरी कार्यालयमा माफी मागेको पनि उजुरीमा उल्लेख छन । सुनारले महिलाको परिवारलाई अन्तरंग फोटोहरू समेत पठाएको उजुरीकर्ताको दाबी छ । उजुरीकर्ताले सो घटनासँग सम्बन्धित मेसेजको स्क्रिनसट, प्रहरी कार्यालयमा माफी माग्ने र मिलापत्र हुँदाका प्रतिलिपि समेत बुझाएकी छिन ।
त्यस्तै, अर्को एक उजुरीकर्ताले भने रास्वपा सांसद खगेन्द्र सुनारको हाम्रो नेपाल पार्टीमा आबद्ध भएकाले गिरीबहादुर सुनार राजदूत हुन योग्य नै नरहेको उल्लेख छ । राजदूत नियुक्त हुने व्यक्ति कुनै दलसँग आबद्ध हुन नहुने उजुरीकर्ताको दाबी छ । उहाँले खगेन्द्र सुनारले दर्ता गराएको हाम्रो नेपाल पार्टीको केन्द्रीय समितिको सूची समेत बुझाएका छन्।

उजुरीकर्ताले राजदूतमा सिफारिस भएका सुनारभन्दा सांसद खगेन्द्र सुनारको बढी आरोप छ । खगेन्द्र सुनारले विभिन्न व्यक्तिसँग पैसा उठाएको र त्यो पैसा व्यवस्थापनको काम गिरीबहादुरले गरेको उजुरीमा छ ।
त्यस्तै प्रहरीमा डिआइजी बढुवामा सांसद सुनार र प्रस्तावित राजदूत सुनारले ३३ लाख पैसा बुझेको आरोप समेत उजुरीकर्ताको छ । त्यस्तै गिरीबहादुरलाई राजदूत सिफारिस गर्न स्वामी आनन्द अरूण समेत मन्त्रालय गएको फोटो उजुरीकर्ताले पठाएका छन।














प्रतिक्रिया दिनुहोस्