काठमाडौं, फागुन १५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताउनु भएको छ । नेकपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताउनु भएको हो ।
प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गर्नुभयो । ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद पुनःस्थापित भयो प्रधानमन्त्री केपी ओली विरूद्धको अविश्वास लगायतका कुराहरू के छ स्थिति मैले तपाईंहरूलाई बताई नै सके उहाँ त हिजो भन्दा झन् दह्रो पो हुनुभयो ।’
‘पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्रीले भन्नुभएको थियो जनतामा जाने मेरो निर्णय लोकतन्त्रसम्मत छ कानूनसम्मत छ । सर्वोच्चले त्यसै गर्छ भन्ने मेरो विश्वास छ । उहाँले भनिराख्नु भएको थियो तर पुनःस्थापित भइदिँदाखेरि अब हामी संसदमा फेरि फर्किएका छौं । स्थिति भनेको यो हो । पुनःस्थापित गर्ने साथीहरूले के सोच्नुभयो थाहा छैन । तर यसले त प्रधानमन्त्री केपी ओलीलाई, हाम्रा पार्टी अध्यक्ष केपी ओलीलाई र हाम्रो पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै छैन ।’
प्रतिनिधिसभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले त्यसो भएमा सरकारले प्रस्तावको सामना गर्ने बताउनु भयो । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले भनाई छ ।













प्रतिक्रिया दिनुहोस्