जनता टाइम्स

१६ फाल्गुन २०७७, आईतवार १८:५७

गृहजिल्लाबाट प्रधानमन्त्रीका तीन महत्वपूर्ण सन्देश : ‘केपी ओलीलाई हटाएर देखाउनुहोस् न’


दमक, फागुन १६

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट राष्ट्रिय राजनीतिका लागि तीन महत्वपूर्ण सन्देश दिनु भएको छ । उहाले विप्लव समुहको राष्ट्रिय राजनीतिमा प्रवेशदेखी आफुलाई हटाउने विषयमा प्रचण्ड–नेपाल समुहलाई लक्षित गरेर सन्देश दिनु भएको हो ।

नेपाल–चीन औद्योगिक पार्कको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले जनताको आशिर्वाद भएसम्म आफुलाई कसैले केही गर्न नसक्ने बताउनु भयो । उहाले आफुलाई मुद्दा जिताइदिएर कसैले प्रधानमन्त्री बनाइदिएको नभई नेपाली जनताले मत हालेर बनाएको स्पष्ट पार्नुभयो । ‘तपाईहरुले बनाउनु भएको हो । तपाईहरु सबै नेपाली जनता जबसम्म मेरो साथमा हुनुहुन्छ, मेरो टाउकोमा तपाईहरुको हातको आशिर्वाद छ । तबसम्म मुद्दा त के भो र प्रतिनिधिसभा पुनःस्थापना भो, ठिक छ त प्रतिनिधिसभा पुनःस्थापना भो रामै भो, अब प्रतिनिधिसभा पुनःस्थापना भएपछि तपाईहरुले के देख्नु भो भन्दा चितवनको सभा छाडेर बुढानिलकण्ठ धाउनु भो’, उहाको भनाई थियो ।

प्रचण्ड–नेपाल समुहको दौडधुपका क्रममा जसपाका नेता राजेन्द्र महतोले उठाएको प्रश्नपछि उहाँहरुमा चिसो पसेको बताउनु भयो । कसैसँग पनि वार्ता गर्दा सहमति नबनेपछि अहिले आफुसँगै आएर हात थापेर राजिनामा गर्दिनुहोस् न हजुर भन्दै आउन थालेको बताउनु भयो । ‘संसद त पुनःस्थापना भो संसदीय दलको नेता केपी ओली हो, पार्टीको अध्यक्ष केपी ओली हो । अब प्रधानमन्त्री केपी ओली छ । उहाँहरु म सग हात थाप्न थाल्नु भएको छ, राजिनामा गर्दिनुहोस् न हजुर’, उहाले गृहजिल्लाबासीका अगाडी प्रचण्ड–नेपाललाई भन्नुभयो, ‘तपाईहरुले संसद जब फिर्ता गरेर ल्याउनु भएको छ, मुद्दा लडेर ल्याउनु भएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न । अविश्वासको प्रस्ताव राख्नुहोस् पास गर्नुहोस् । पहिले पनि अविश्वासको प्रस्ताव राखेको हो, जनताबाट फर्किएर आएको हुँ । अहिले नि हटाएर देखाउनुहोस्, हटाउन सक्नु भएछ भने तीन करोड जनताबाट फेरी दुई तिहाई लिएर आइन्छ । कुनै चिन्ताको विषय छैन, तपाईहरुलाई म भन्न चाहान्छु, चिन्ता गर्नुपर्ने अवस्था होइन् ।’

प्रधानमन्त्री ओलीले मिष्टर हेल्लो र मिष्टर कम्फर्टेबलले मुलुकलाई बर्बाद पार्न चाहेको बताउनु भयो । तर, कसैलाई पनि चिन्ता नगर्न आग्रह गर्दै हामीहरु पनि यही देशमा रहेको स्मरण गराउनु भयो । ‘मिष्टर एल्लो र मिष्टर कम्फर्टेबलले मुलुकलाई बर्बाद पार्न चाहे, तर तपाईलाई भन्छु, हामी छौं यो देशमा । मलाई पहिलो पटक प्रधानमन्त्रीबाट हटाउँदा मैले भनेको थिए, यस प्रक्रियामा हामी पनि यही छौं, हामी यही छौं भन्ने कुरा नबिर्स । अहिले पनि म लड्डु खानेहरुलाई भन्न चाहान्छु । हामी यही छौं भन्ने कुरा नबिर्स ।’

तीन चिजको मात्र पछाडी कुद्नेहरु अहिले ओली हटेर अर्को एउटा व्यक्ति प्रधानमन्त्री बन्यो भने कुन देशका लागि अनुकुल हुन्छ रे भन्न थालेको उहाको भनाई थियो । ‘म हटेर अर्को एउटा व्यक्ति प्रधानमन्त्री बन्यो भने कुन देशका लागि अनुकुल हुन्छ रे । नेपालका लागि नेपाली जनताका लागि अनुकुल होइन । नेपाली जनताका लागि पिलो भन्दा बढि टनटना हुने हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शान्ति, विकास, उन्नति प्रगति र एकता देख्न नसक्ने, बल्ल बल्ल एकता गरियो त्यो एकता पनि फुटाएर हिड्ने । ध्यान नै पदमा छ, पद बाहेक केहीमा छैन । पद, पैसा, परिवार तीन वटा कुरामा ध्यान । मलाई चाहियो, जे मा पनि मलाई चाहियो । जहिले पनि मलाई चाहियो, त्यो पनि हाताहाती ।’

प्रधानमन्त्री ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने समेत जानकारी गराउनु भयो । ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं । तपाईहरुले समाधानको कार्यक्रम सम्भावतः छिट्टै टेलिभिजनमा देख्न सक्नुहुनेछ’, उहाको भनाई थियो ।