जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार ०९:३९

वार्ता स्थान र समय गोप्य : आज सरकार र विप्लव समूहबीच औपचारिक वार्ताको तयारी


काठमाडौं,  फागुन १९ । सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहबीच आजदेखि औपचारिक वार्ता सुरु गर्ने तयारी भएको छ ।  तर वार्ताको समय र स्थान भने गोप्य राखिएको छ ।

वार्ताका लागि दुवै समूहले वार्ता समिति गठन गरेका छन् । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहले वार्ता टोली गठन गरेको छ ।

विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ । यो समूहले संसदीय व्यवस्थाको विकल्प र सङ्कट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार बनाउने एजेण्डा बोकेको छ । यस्तै वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनमतसंग्रह गर्नुपर्ने विप्लव समूहको माग रहेको छ । विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । दुवै समूहले वार्ता टोली गठन गरेसँगै नेपाली कांग्रेसलगायत राजनीतिक दलहरुले सार्थक वार्ता गर्न सुझाव दिएका छन् ।