जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार ११:२८

सरकार–विप्लव वार्ता सकरात्मक, यस्ता भए कुराकानी


काठमाडौं, फागुन १९

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक रुपमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले जानकारी दिनुभयो ।

छलफलमा विप्लव समुहले पार्टीमाथीको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने र मुद्दाहरु फिर्ता लिनुपर्ने शर्त राखेको छ । त्यस बाहेक केही राजनीतिक माग पनि अगाडी सारेको छ । सरकारका तर्फबाट वार्ता टोलीले सबै विषयमा सरकार सकरात्मक भएपनि केही अपराधिक मुद्दामा रहेका नेता कार्यकर्तालाई छाड्न समस्या हुने बताएको थियो । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक उन्मुख रहेको जानकारी दिनुभयो ।

दुवै तर्फबाट शिर्ष तहमा छलफल गरेर पुनः चाँडै अर्को चरणको वार्तामा बस्ने सहमति पनि बनेको छ । वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी हुनुहुन्थ्यो ।