काठमाडौं ।
नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण विहिवारदेखि काठमाडौँमा शुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा ‘मार्ट’ को आयोजना हुदै आएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एशिया ट्रावल एशोसियशन (पाटा) ले सो ‘मार्ट’ आयोजना गर्दै आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । उहाँले हिमालयको देश नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य भएको बताउनुभयो । उहाँले असिमिति पर्यटकीय ‘प्रडक्ड’लाई उजागर गर्न मार्ट उर्पयुक्त माध्यम भएको बताउनुभयो ।
कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट क्रमशः ब्राण्डिङ हुँदै आइरहको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा जनशक्ति विकासमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपालको पर्यटन विकासमा निजी क्षेत्र सधै सक्रिय रहेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटन उहाँले मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड’ मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने ‘बी–टु–बी’ कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो । उहाँले मार्ट नेपालमा सार्वजनिक निजी साझेदारीको उपर्युक्त नमूना भएको बताउनुभयो ।
पाटा इन्टरनेशनलका उपाध्यक्ष वोङ्ग सुन ह्वाले नेपालको विकासमा पर्यटन महत्वपूर्ण माध्यम भएको बताउँदै नेपालको पर्यटन विकासमा पाटा इन्टरनेशनल सधैँ साथमा रहेको बताउनुभयो । मार्टमा पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिबाट नेपालको पर्यटनका विविध पक्षमाथि अन्तरक्रिया तथा बी टु बी मिटिङ आयोजना हुने पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले जानकारी दिए ।
सम्मेलनमा नेपालसहित ४३ देशका करीब ७०० को सहभागिता छ । यसअघि सन् २०१७ मा ५३ देशका २२५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको ‘मार्ट’मा ३६ देशका १७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । राजधानीमा शुरु भएको मार्ट आइतबारसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्