कैलाश लामा
चरिकोट, फागुन २६
दोलखा सदरमुकाम चरिकोट स्थित सिन्धु विकास बैंकले ऋण प्रवाहमा दुरुपयोग गरेको पाइएको छ। व्यक्तिगत ऋण प्रवाह गर्दा बैंकले घर परिवारलाई जानकारी नदिई भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका पुष्कर बहादुर खत्रीलाई ऋण प्रवाह गर्दा बृद्धअबश्थाका श्रीमती कान्छी खत्रीको बिचल्ली भएको हो ।
श्रीमानले बैंक संगको मिलेमतोमा आफू बस्ने घर सहितको जग्गा जमीन धितो राखेर करिब तीन लाख रुपियाँ ऋण लिएर फरार भएपछि आफूलाई बैंकले सधैंभरि तनाव दिएको कान्छी खत्री बताउनुहुन्छ । ‘मेरा छोराछोरी कोहिकसैलाई अंशबण्ड गरेको छैन, तर श्रीमानले बैंकबाट रकम झिकेर भागेको दुई बर्षसम्म पनि सम्पर्कमा नआएपछि घरबारी नै बैंकले कब्जा गर्छन् भन्ने डर भएको छ’, उहाँले भन्नुभयो, ‘श्रीमानले अर्की ल्याएर बसेको छ भनेको सुनेको छु, तर हालसम्म घर फर्केर आएका छैनन् । यता बैंकले भने अब घरजग्गा लिलाम हुन्छ भनेर सधैं मानसिक तनाव दिइरहेका छन् ।’
५९ वर्षीय पुष्करले बास बस्ने कटेरो सहितको जग्गा जमीन धितो राखेर ऋण र भूकम्पको किस्ता समेत लगेर अर्कैसंग बस्ने गरेको आशंका श्रीमती खत्रीको छ । त्यसैले बृद्धअबस्थाका ६२ वर्षीया उहाँले भुतपुर्व आर्मी समेत रहेको श्रीमानको अंश सहित पेन्सन पाउ भनी जिल्ला अदालतमा मुद्दा हाल्नुभएको छ । ६ सन्तानकी आमा कान्छीको दुई छोरी र एक छोराको विहे भए तापनि दुई छोरी र एक छोराको बिहे हुन बाकी छ । कान्छी छोरी कक्षा ९ मा अध्ययनरत छिन् । खेतीपातीबाट जीवन गुजारा चलाइरहेकी कान्छीको श्रीमान पुस्करले थाहै नदिई बैंकबाट ऋण झिकेर भागेका कारण बस्ने कटेरो र खेतीपाती गर्ने खेतबारी नै बैंकले लिलाम गर्ने अवस्थामा पुगेको हो । यसबाट आफूलाई मर्नु र बाच्नु भएको उहाँ बताउनुहुन्छ ।
पुष्कर खत्रीले २०७५ सालमा सिन्धु विकास बैंकबाट करिब ६ लाख रुपियाँ ऋण पास गरेका थिए । श्रीमती अपांग भएकोले बैंकमा उपस्थित गराउन नसक्ने भन्दै अन्य मान्छेलाई व्यक्तिगत जमानी राखेर कर्जा पास गराएका थिए । यो थाहा पाएपछि कान्छी खत्री बैंकमै पुगेर कराउनुभयो । त्यसपछि बैंकले व्यक्तिगत जमानीको कागजमा सहिछाप गरिदिए बाकी तीन लाख दिनेसम्मको प्रलोभन दिएको उहाँले बताउनुभयो ।
पारिवारिक सहमति बिना दिएको ऋण नलिने र ऋण कस्को सहमति र के उद्देश्यका लागि दिएको भन्दै उहाँले गुनासो गरेपछि ३ लाख ऋण बैंकले तत्कालै घटाएको थियो । नियमअनुसार एकाघरका श्रीमतीलाई व्यक्तिगत जमानी नराखी बैंकले कुनैपनि ऋण प्रवाह गर्दैनन् । तर चरिकोटस्थित सिन्धु बिकास बैंकले एकाघरका श्रीमती, घरपरिवार र छरछिमेक भन्दा टाढाको तेस्रो पक्षलाई व्यक्तिगत जमानी राखेर ऋण प्रवाह गरेका छन् ।
यसबाट ऋणीको परिवारको बिचल्ली भएको छ भने स्वयं बैंकको लगानी समेत बालुवामा पानी भएको छ । ऋणीले हालसम्म कबोल गरे बमोजिम बैंकमा सावाँ व्याज तिरेका छैनन् । बैंकका अनुसार सावा व्याज गरेर तीन लाख ८० हजार तिर्नुपर्ने हुन्छ । हालका बैंक म्यानेजर नरेश पण्डितले उक्त ऋण आफ्नो कार्यकालमा नभइ अघिल्लो बैंक म्यानेजरको पालामा प्रवाह भएको स्विकार्नु भयो । हालसम्म सावाँ व्याज तिर्न नआएपछि ऋणीको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।
आर्थिक प्रलोभनमा परेका बैंकका कर्मचारीहरुको मिलेमतो वा गम्भीर त्रुटीका कारण मात्रै यस्तो घट्ना हुन सक्ने चरिकोटका बैंकर्सहरु बताउँछन् । धीतो हेर्न जादा श्रीमतीको अवस्था बुझ्नसक्ने मार्ग प्रशस्त हुँदाहुँदै पनि श्रीमतीको व्यक्तिगत जमानी नलिनु घट्ना रहस्यमय देखिन्छ । ऋणीले रकम नतिरेमा ब्यक्तिगत जमानी बसेकाबाट ऋण रकम असुल गर्न पाउने प्रावधान छ । तर, श्रीमतीलाई थाहै नदिइ झिकेको ऋणको सावाँ व्याज बुझाउन श्रीमतीलाई दबाब दिन नमिल्ने बैंकर्सहरु बताउछन् ।
हिमाली जिल्ला दोलखा सदरमुकाम चरिकोटमा मात्रै सरकारी र निजी गरेर दर्जन बढी बैंकहरु सञ्चालनमा छन् । जसमा १४ वटा बाणिज्य बैंक र दुई वटा विकास बैंक छन् । तर अस्वस्थ प्रतिस्पर्धाले कर्जा विश्लेषण नै नगरी ऋण प्रवाह गर्दा बैंकहरूको ६० करोड भन्दा बढि रकम खराब कर्जामा परिणत भएको छ ।













प्रतिक्रिया दिनुहोस्