जनता टाइम्स

२७ फाल्गुन २०७७, बिहीबार १८:११

प्रचण्डको रणनीतिमा चल्दै माधव गुट : नेकपाको बबण्डर एमालेमा भित्र्याउदै


काठमाडौं, फागुन २७

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डसँग सम्बन्ध छोडेर पार्टीमा फर्किएपछि पुरानै गतिविधि शुरु गर्न थालेको खुलेको छ । एमालेको औपचारिक बैठक नै शुरु नभईकन उहाले समानान्तर कमिटी गठन गर्ने धम्की दिन थाल्नु भएको हो ।

नेपालका कम्युनिष्ट पार्टीबीच एकता गर्ने विषयलाई पदको बार्गेनिङमा लगेर नष्ट गरेपछि सोही गतिविधि पुनः एमालेमा शुरु गर्नुभएको छ । फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपनि औपचारिक पत्र भने २५ गते मात्र प्राप्त भएको थियो । तर, उहाले प्रचण्डको रणनीतिअनुसार प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिने एमालेमा पहिलाको नेकपा जस्तो सधै बखेडा झिक्न थाल्नु भएको एमालेकै नेताहरु बताउँछन् ।

माधव नेपालले आफ्नो गुटको बैठक धमाधम नयाँ बानेश्वरस्थित अर्याल होटलमा राखेर एमालेमा बबण्डर मच्चाउने रणनीति तयार गरिरहनु भएको छ । उहाको पहिलो माग प्रधानमन्त्रीमा ओली बाहेक अन्य अथवा आफुलाई प्रधानमन्त्री बनाउने र माओवादी केन्द्रलाई पनि समेट्ने अथवा ५३ सिट पाएको माओवादी केन्द्रका प्रचण्डको नेतृत्वमा सरकार बनाएर १२१ सिटको एमाले सहयोगीको भूमिकामा रहनु पर्ने माग अघि सार्नुभएको छ ।

एमाले भईसकेपछि औपचारिक बैठक राख्न माग गर्नुपर्नेमा उहाँले आफुहरुलाई हेपिएको भन्दै समानान्तर गतिविधि गर्ने चेतावनी दिदै आउनु भएको छ । एमालेको स्थायी, केन्द्रीय कमिटी, संसदीय दलमा ओली निक्कै ठुलो अन्तरको बहुमतमा हुनुहुन्छ । सोही कारण नेता नेपाल बैठक भन्दा पनि आफुलाई हेपेको भन्दै समानान्तर कमिटी चलाउन उचित ठान्न थाल्नु भएको छ । तर, संस्थापन पक्ष भने नेपालको धम्कीबाट अलिकति पनि हलचल गरेको छैन । ‘उहाँ त प्रचण्डजी लाई अध्यक्ष मानेर गइसक्नु भएको हो’, एक नेताले भने, ‘गइसकेको मान्छे पदका लागि फेरी एमालेमा जवरजस्ती फर्कनु भएको छ, त्यसले आफुहरुलाई खासै ठुलो असर पर्दैन ।’

एमाले नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने प्रधानमन्त्री ओली एकताको भावलाई समेटेर पार्टीलाई अघि बढाउन गम्भीर परामर्शमा रहनु भएको बताउनु भयो । ‘सर्वोच्चको फैसला पछि एमालेका अध्यक्ष एकताको भावलाई समेटेर पार्टीलाई अघि वढाउन गंभीर परामर्शमा हुनुहुन्छ । कुनै नयाँ निर्णय भा छैन’, उहाले भन्नुभयो ।