जनता टाइम्स

२ चैत्र २०७७, सोमबार १९:०४

कृषि, जडिबूटी, वन तथा खनिज पदार्थको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन बृद्धि गर्नु आजको आवश्यकता : राष्ट्रपति


काठमाडौं, चैत २ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कृषि, जडिबूटी, वन तथा खनिज पदार्थको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन बृद्धि गर्नु आजको आवश्यकता भएको प्रष्ट पार्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन गर्द राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

‘चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ,’ उहाँले भन्नुभयो,‘नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।’

औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको उहाँको भनाई थियो । राष्ट्रपति भण्डारीले नेपालमा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिएको सन्दर्भमा सांस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनुपर्ने खाँचो समेत औल्याउनुभयो । अर्थ मन्त्री विष्णु पौडेलले समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहेको बताउनुभयो ।

‘तपाईँहरूका समस्या सुन्न र ती समस्या समाधान गर्नमा सरकारको ध्यान छ’, उहाँले भन्नुभयो,‘सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर मात्र यो लक्ष्य पूरा गर्न सकिन्छ । आउने दिनमा पनि तपाईँहरूसँग जिवन्त सहकार्यका लागि सरकार आह्वान गर्दछ ।’ चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको निजी क्षेत्र सरकारले अघि सारेको ‘समृद्ध नेपाल : सुखी नेपाल’ महाअभियानको सारथी भएको बताउनुभयो ।

‘सरकार र निजी क्षेत्र समृद्धिका निम्ति एक रथका दुई पांग्रा हुन्’, उहाँले भन्नुभयो,‘हामी उच्चतम सहकार्यको संस्कृति निर्माण गर्न चाहन्छौँ ।’ चेम्बरले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । सोमबार आयोजित वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले स्मृति ग्रन्थ विमोचन पनि गर्नुभयो ।

यस्तै कार्यक्रममा चेम्बरले पूर्वअध्यक्षहरूलाई सम्मान गरेको छ । संस्थापक अध्यक्षहरू स्व. लोकनाथ जोशी, स्व. जुद्धबहादुर श्रेष्ठ, स्व. बिहारीलाल खेतान, स्व. गोबद्र्धनलाल मास्के, स्व. रतिराम अग्रवाल, स्व. जनकदास श्रेष्ठ, स्व. बालकृष्ण श्रेष्ठ, स्व. इन्द्रभक्त श्रेष्ठ, स्व. राजबहादुर चिपालु, स्व. बनवारीलाल मित्तल, स्व. ईश्वरलाल श्रेष्ठका परिवारले सम्मान ग्रहण गरे । यस्तै पूर्व अध्यक्षहरू महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र अध्यक्ष राजेशकाजी श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

यस्तो छ राष्ट्रपति संबोधनको पूर्णपाठ

माननीय अर्थमन्त्री,
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लगायत पदाधिकारी एवं सदस्यहरू,
उपस्थित राष्ट्रसेवकहरू,
भद्रमहिला तथा सज्जनवृन्द !
 मुुलुकको वाणिज्य तथा व्यापार प्रवद्र्धनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल चेम्बर अफ कमर्सले ७० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा हार्दिक बधाई दिँदै यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

 सात दशकअघि प्रजातन्त्रको उदयसँगै व्यापारी व्यावसायीहरूले नेपाल चेम्बर अफ कमर्स जस्तो प्रतिष्ठित संस्था स्थापना गरी मुलुकको आर्थिक विकासमा निरन्तर योगदान पु¥याउँदै आउनु भएकोमा सराहना गर्दछु ।
 साथै, यस अवसरमा सम्मानित हुनुहुने वर्तमान तथा पूर्व अध्यक्षहरूको योगदानको स्मरण गर्न चाहन्छु ।

 हाम्रो साँस्कृतिक विरासतले सर्वेभवन्तु सुखीनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणी पश्यन्तु मा कश्चित दुःख भाग्भवेत् भन्ने युगौँदेखि सन्देश प्रवाह गरिरहेको छ ।

 यसको अर्थ सबै सुखी होउन्, सबै निरोगी होउन्, सबैको जीवन शान्तिमय होस् र सबैको दुःख नाश होस् भन्ने नै हो ।

 यही भावनाबाट अभिप्रेरित भएर हाम्रा विकासका अवधारणाहरु निर्मित हुँदै कार्यान्वयनमा गइरहेको सन्दर्भमा पछिल्लो चरणमा नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्प अघि सारेको छ ।

 आर्थिक विकासबाट समृद्धि हासिल हुने र यसबाटै सुख र शान्ति प्राप्त हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनु पर्दछ भन्ने मलाई लागेको छ ।
 मेरो विश्वास छ, स्थापनाकालदेखि नै चेम्बरजस्ता संघसंस्थाहरूले हाम्रो साँस्कृतिक मूल्य मान्यतालाई आत्मसात गर्दै उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गर्दै आएका छन् ।

 यसबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ ।

 नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन विभिन्न प्रर्दशनीहरूको आयोजना गर्नुका साथै प्रवद्र्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता बृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।

 औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको छ ।

 प्राकृतिक स्रोत तथा सम्पदाले भरिपूर्ण यस मुलुकमा रहेका कृषि, जडिबूटी, वन तथा खनिज पदार्थको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन बृद्धि गर्नु आजको आवश्यकता हो ।

 यसबाट आयात प्रतिस्थापन भई व्यापार सन्तुलन हासिल हुने र स्वावलम्बी अर्थतन्त्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको छु ।

 सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सहभागिता र समन्वयमा आर्थिक गतिविधिहरू सञ्चालन गर्दै अघि बढेमा आर्थिक विकासले तीब्रता लिनेछ भन्ने मलाई लाग्दछ ।

 हाम्रो पवित्र धर्ती शान्तिका अग्रदूत बुद्धसहित विद्वान मनिषीहरूको तपस्थली हो ।

 यस परिवेशबाट साँस्कृतिक पर्यटनको ठूलो संभावना देखिएको सन्दर्भमा साँस्कृतिक पर्यटक लक्षित वस्तुको उत्पादनमा जोड दिनु पर्ने खाँचो मैले महसुस गरेको छु ।

 हाम्रो भौगोलिक अवस्थितिबाट सजिलै यस्ता उत्पादनको बजारीकरण हुन संभव छ भन्ने मलाई लाग्दछ ।
 नेपाल चेम्वर अफ कमर्सले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि छुट्टै चेम्बर गठन गरी महिला उद्यमशीलताको विकास गर्न अग्रसर भएकोमा खुसी लागेको छ ।

 यसैगरी युवा उद्यमीहरूलाई चेम्बरका गतिविधिमा संलग्न गराउन नेपाल युथ चेम्बर गठन गर्नु प्रशंसनीय कार्य हो ।

 संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको म उच्च प्रशंसा गर्दछु ।

 उद्योग र व्यापारको प्रवद्र्धनका लागि मुलुकमा धेरै संघसंस्थाहरू सक्रिय छन् ।

 चेम्बर अफ कमर्सले ती सबैसँग घनिष्ट सम्बन्ध र सहकार्य गर्दै अगाडि बढेको खण्डमा व्यावसायिक क्षेत्रको विकास सहित मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु ।

 अन्तमा, उत्साही, जागरुक र सिर्जनशील व्यवसायी श्री राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको यस संस्थामा आवद्ध प्रतिष्ठित व्यावसायिक समुदायले मुलुकको उद्योग, वाणिज्य तथा व्यापार र समग्र आर्थिक क्षेत्रको नीति निर्माणमा सरकारलाई सदा झैं सहयोग पु¥याउँदै अघि बढ्ने अपेक्षा सहित पुनः यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
धन्यवाद ।
२०७७ साल चैत्र २ गते सोमबार ।