जनता टाइम्स

६ चैत्र २०७७, शुक्रबार १९:२९

उद्योगी–व्यवसायीले गरे सरकारको खुलेर प्रशंसा


काठमाडौं, चैत ६ । उद्योगी व्यवसायीले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अझै व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्योगी व्यवसायीसँग गर्नुभएको छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले सरकारको कामको खुलेर प्रशंसा गर्दै थप राम्रा नीति तथा कार्यक्रमको अपेक्षा गरेको बताएका हुन ।
छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमका कारण कोरोना कहरबीच पनि नेपालको अर्थतन्त्र चाँडै तंग्रिएको बताउनु भयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढ्नुले अर्थतन्त्र सुधारको संकेत दिएको भन्दै अध्यक्ष गोल्छाले राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कार्यविधिले नेपालका लघु, साना तथा मझौलालाई निकै राहत मिलेको बताउनु भयो ।

सरकारले छिटै कोभिडविरुद्ध खोप ल्याएकोप्रति आभार व्यक्त गर्दै अध्यक्ष गोल्छाले त्यसले व्यवसायी पनि उत्साहित भएको जानकारी दिनुभयो । ‘नेपालमा लगानी र व्यापारिक वातावरण बन्दै गएको छ । बैंकको तरलता घट्दै गएको छ । देश क्रमशः औद्योगिक बन्दैछ । यो सरकारको प्रभावकारी नीति र कामकै कारण भएको हो,’ गोल्छाले भन्नुभयो । उहाँले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामा नै रहेको बताउनु भयो । उहााले पर्यटन क्षेत्र पनि समस्यामा रहेकाले त्यसलाई राहत हुने गरी थप कार्यक्रम ल्याउन सुझाउनु भयो ।

नेपाल उद्योग परिसंघ ( सिएनआई) का अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगका लागि सहज व्यापार गर्न, पूर्वाधारमा लगानी बढाउन, स्वादेशी उत्पादनलाई बढाउन र निर्यात गर्न अझै प्रभावकारी नीतिको खाँचो रहेको बताउनु भयो । सिएनआईकै पूर्वअध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओलीको भिजनलाई कार्यान्वयन गर्न सक्ने हो भने समृद्ध देश बन्न लामो समय नलाग्ने ठोकुवा गर्नुभयो । केही कानुन व्यवसायीमैत्री बनाउन आग्रह गर्दै पनि उहाँले आग्रह गर्नुभयो । शर्माले प्रधानमन्त्रीको योजनाअनुसार काम भए १० वर्षमा मुलुकले काँचुली फेर्ने आफ्नो अनुभुति पनि सुनाउनु भयो ।

नेपाल चेम्बर अफ कर्मशमा उपाध्यक्ष कम्लेश कुमार अग्रवालले सरकारले चालेको कदमको प्रसंसा गर्दै अहिले वैदेशिक व्यापार घाटा मुख्य समस्या रहेको भन्दै आन्तरिक उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उद्योगी ब्यवसायीको कुरा सुन्न प्रधानमन्त्री ओलीले आज छलफल कार्यक्रमको आयोजना गर्नुभएको हो ।