जनता टाइम्स

९ चैत्र २०७७, सोमबार ०८:४६

दुई एसएसपीमाथि अख्तियारको छानविन


काठमाडौं, चैत ९ । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी) माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्य र प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंहको आर्थिक अनियमितताबारे अखितयारले छानविन गरेको हो ।

अख्तियारका अनुसार बज्राचार्य महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनका लागी निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोपमा उजुरी परेको थियो । बज्राचार्य ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर प्रहरी प्रमुख हुनुहुन्थ्यो । अर्की एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिएर आफैंले हिनामिना गरेको आरोप छ ।

सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापालसँग मिलेर सिंहले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको थियो । सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको प्रमुख हुनुहुन्थ्यो । उहाँ हाल प्रहरी हेडक्वार्टरको प्रशासन महाशाखामा कार्यरत हुनुहुन्छ ।