दोलखा, चैत १६ । दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लट फोर ‘४’ अन्तर्गतको प्रसारण लाईन तथा सवस्टेसन न्यु खिम्ती सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
स्वदेशी लगानीमा बन्दै गरेको चार सय ५६ मेघावाट क्षमताको आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०÷१३२ केभीको सबस्टेसन निर्माणको काम अन्तिम चरणमा प्रवेश गरेको हो । कुल दुई अर्ब १२ करोड रुपैयाँमा लागतमा सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी केइसी इन्टरनेशनलसँग सन २०१३ जनेवरीमा ठेक्का सम्झौता भएको थियो ।
माथिल्लो तामाकोशी आयोजनाका प्रबक्ता डा. गणेश न्यौपानेका अनुसार सम्झौता अनुसार आयोजनाको पावर हाउस क्षेत्र गोंगरदेखि रामेछापको देवीटारसम्म ४७ किलोमिटर प्रसारण लाइनको तार टागिँसकेको छ भने १२७ वटा टावर ठड्याइएको छ । सबस्टेसनमा जोड्ने बाहेक प्रसारण लाइनको सम्पूर्ण काम सकिएको न्यौपानेले जानकारी दिनुभयो । त्यसैगरी २२०÷१३२ केभीको सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको र ठाउँ समेत थोरै ओगट्ने जिआइएस गाँस इन्सुलेटेड सबस्टेस, भवन निर्माणको काम सम्पन्न भएको छ भने २२० केभीको जिआईएस उपकरण जडान भइ परिक्षणको चरणमा प्रवेश गरेको छ ।
सबस्टेसनको सबै लाइनलाई व्यवस्थापन गर्ने कन्ट्रोल रुम भवनको काम सकिएको छ भने १०० एमभिए ट्रासफर्मर जडानको काम पनि सकिएको । यसले तामाकोसीमा उत्पादित आंशिक बिद्युत् काठमाडौं पनि पठाउन सकिनेछ । सबस्टेसन स्थित ग्यान्ट्री टावरको काम सकिएको बताउदै प्रबक्ता डाक्टर न्यौपानेले इरेक्सन र कमिस्निङ को काम पनि सकिएको बताउनुभयो ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ देविटारमा निर्माणाधीन सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०÷१३२ केभी, १०० एमभिएको ट्रन्सफर्मर भई १३२ केभी प्रसारण लाईनबाट काठमाडौंमा पनि जोड्नेछ । दोलखा र रामेछापको पावर हवको रुपमा लिइएको न्यू खिम्ती सबस्टेसनमा गज्र्याङ हाइड्रोपावर, खिम्ती २ हाइड्रोपावर, लिखु १ हाइड्रोपावर, लिखु २ हाइड्रोपावर, लिखु ३ हाइड्रोपावर र लिखु ४ हाइड्रोपावर लगायतबाट करिब ७५० मेघावाट जलविद्युत आयोजना यहि सबस्टसनमा जोडिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताउनुभयो ।
‘सबस्टेसन निर्माणमा चुनौतीपूर्ण मानिएका काम सकिएर अघि बढिसकेकोले चैतभित्रै सबै काम सम्पन्न भएर तयारी अवस्थामा रहन्छ,’ श्रेष्ठले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्