काठमाडौं, चैत १७ । सर्वोच्च अदालतले फागुन २३ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खारेज गरी पूर्ववत पार्टी ब्यूँताएपछि पार्टीमै फर्किए पनि एमाले नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको माया प्रिती छाडन नसकेको तथ्यले देखाएको छ ।
आज मात्रै ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत निलम्बनमा पर्नुभएका नेता नेपालले आजै माओवादी अध्यक्ष प्रचण्डसँग लामो बार्ता गर्नुभयो । प्रचण्डसँग मिलेर आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध गरेको आपराधिक कामका कारण नेता नेपाल एमालेतिर फर्किए पनि मन प्रचण्डतिरै बनाएर बस्नुभएको थियो । त्यसैको परिणाम उहाँले प्रचण्डसँग निरन्तर सम्वाद अघि बढाउनु भएको हो । पार्टी अध्यक्ष ओलीसँग एक पटक मात्रै वार्ता गर्नुभएका नेपालले प्रचण्डसँग भने दैनिकजसो संवाद गरिरहेको तथ्यले देखाएको छ ।
यस्तो छ प्रचण्ड–माधवको भेट श्रृंखला
फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्र फर्किए यताको हिसाब गर्ने हो भने नेपालले प्रचण्डसँग १० पटक भेटवार्ता गरिसक्नु भएको छ । फागुन २३ गते अलग दुई पार्टीमा पुगेका नेपाल–दाहालबीच आजसम्मको भेटको हिसाब गर्ने हो भने १० पटक वार्ता भइसकेको छ । अर्थात् २२ दिनको बीचमा माधवले प्रचण्डसँग १० पटक भेटवार्ता गर्नुभएको हो ।
पछिल्लो समय यी दुई नेताले कोटेश्वरस्थित ब्यापारीको घरलाई आफ्नो भेटघाटको अड्डा बनाउनु भएको छ । कोटेश्वरस्थित व्यापारीद्वय चन्द्रलाल श्रेष्ठ र टपेन्द्र तिमल्सिनाको घरलाई भेटघाटको स्थल बनाउनु भएको हो ।
१. फागुन २४ : सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि यी दुई नेताबीच भोलिपल्ट तत्कालीन नेकपाको एउटा कार्यालय पेरिसडाँडामा भेट भएको थियो । जहाँ तत्कालीन नेकपाको माधव–प्रचण्ड समूहको अन्तिम स्थायी कमिटी बैठक बसेको थियो । त्यही बैठकबाट औपचारिक रूपमा प्रचण्ड माओवादी केन्द्रतिर फर्किनुभयो भने माधव नेपाल एमालेतिर फर्किनुभयो ।
२. फागुन २७ : एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि माधव र प्रचण्डबीच फागुन २७ गते कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भयो ।
३. फागुन २९ : नेपाल र प्रचण्डबीच फागुन २९ गते कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठको घरमै दोस्रो भेटवार्ता भयो ।
४. चैत १ : ओलीले आफूलाई पेल्दै लगेपछि सम्भावित रणनीतिका लागि नेता नेपालले कोटेश्वरस्थित उनै व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्डसँग वार्ता गर्नुभयो । उक्त वार्तामा अर्का वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो ।
५. चैत ६ : प्रचण्ड र नेता नेपालबीच चैत ६ गते उनै व्यापारी चन्द्रलाल श्रेष्ठको घरमा पुनः वार्ता भयो ।
६. चैत ८ : माधवले प्रचण्डलाई फेरि भेट गर्नुभयो । यो भेट दुई नेताबीच कोटेश्वरस्थित व्यापारी चन्द्रलाल श्रेष्ठकै घरमा भएको थियो ।
७. चैत ९ : चैत ९ मा माधव र प्रचण्डबीच व्यापारी चन्द्रलाल श्रेष्ठको घरबाट नजिकैका व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बार्ता भयो ।
८. चैत १२ : तीन दिनपछि दुई नेता फेरि व्यापारी चन्द्रलाल श्रेष्ठकै घरमा बार्ता गर्नुभयो ।
९. चैत १३ : दुई नेताले कोटेश्वरको महादेवस्थानस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा भेटवार्ता गर्नुभयो ।
१०. चैत १६ : प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच आज पनि कोटेश्वर महादेवस्थानस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा वार्ता भएको छ । आजको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्