जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार १०:१८

माधव नेपाल र भीम रावललाई सुधार्ने अध्यक्ष ओलीको अन्तिम प्रयाश : सांसद पद यथावत (पत्रसहित)


काठमाडौं, चैत १७ । पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई सांसद पद यथावत राखी अन्य सवै जिम्मेवारीबाट निलम्बन गरेको छ। केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार एमाले महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरण चित्तबुझ्दो जवाफ नआएको भन्दै एमालेले सांसद पद यथावत राखी ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर सांसद पद बाहेक अन्य जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिनुभएको छ । ‘यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,’ अध्यक्ष ओलीले पठाउनु भएको पत्रमा भनिएको छ ।