जनता टाइम्स

१७ चैत्र २०७७, मंगलवार २१:४५

कर्णाली प्रदेश सरकार अल्पमतमा, प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई दिए ध्यानाकर्षण–पत्र


सुर्खेत, चैत्र १७

कर्णाली प्रदेश सरकार अल्पमतमा परेको जानकारी प्रदेश प्रमुखले गराउनु भएको छ । सत्ता सहयात्री नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको जानकारी आएपछि प्रदेश प्रमुखले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेको जानकारी गराउनु भएको हो ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराउनु भएको छ । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेर एमालेले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री शाही अल्पतमा परेको जनाउ दिएको हो । कर्णालीमा १३ सिट जितेको माओवादी केन्द्र नेतृत्वको सरकार छ । त्यहा २० सिट रहेको एमालेले माओवादी केन्द्रलाई यसअघि समर्थन दिएको थियो ।

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलको हस्ताक्षरमा जारी विज्ञप्तिमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण–पत्र प्रेषित गरिएको उल्लेख छ ।

संविधानको सो उपधारामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ । सो उपधारामा भनिएको छ, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।’