जनता टाइम्स

२० चैत्र २०७७, शुक्रबार १६:२७

ओनसरी र वर्षमानका गाउँलेको गुनासो : संकटकालमा लुक्न आउँथे, अचेल अनुहार देखाउँदैनन्


काठमाडौं, चैत्र २०

रोल्पा, माडिचौर, पूर्व सभामुख ओनसरी घर्ती र पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को गाउँ हो । माओवादीले युद्ध चलाएको बेला त्यहा जतिखुशी थियो, त्यो भन्दा अहिले बढि निराशा र आक्रोश । उनिहरुको गुनासो छ, नेता जन्माइयो तर यहाँ विकास जन्मिन सकेन ।

गाउँ, समाज र देशको विकास गर्ने आश्वासन दिएर चुनाव जितेका नेताहरुसँग माडिचौरवासीको दुखेसो छ । माडिचौरबाटै नेताहरु देशको अग्रस्थानमा पुगे । तर गाउँको विकासले भने गति लिन सकेन । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका विभिन्न पुर्वाधारका विकासको आधारमा माडिचौरको अवस्था चिन्ताजनक छ ।

माडिचौरमा समस्या भनेको अस्पताल पनि हो । जंकोट क्षेत्रमा एउटा मात्र स्वास्थ्य चौकि छ, जुन माडिचौरवासीको लागी टाढा छ । सदरमुकामबाट माडिचौरको सम्मको दुरी १३ कि.मी मात्रै छ । तरपनि पक्की हुन सकेको छैन । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको अवस्था छ । पूर्वअर्थमन्त्री र पूर्व सभामुखको गाउँ भन्दापनि लाजै लाग्ने अवस्था रहेको स्थानीयबासीको भनाई छ ।

वर्षातको समयमा तरकारी बेच्नकै लागी कृषकहरु लुखुर–लुखुर १३ कि.मी हिडेर सदरमुकाम लिवाङसम्म पुग्नुपर्ने बाध्यता छ । स्थानीय पवित्रा खड्का भन्छिन, ‘वर्षमान पुन र ओनसरी घर्ती मेरो भतिज र भतिजी हुन् । वि.सं ०५३ सालतीर संकटकाल बेला लडाँइ छ भन्दै लुकिछिपी हिड्थे । अचेल अनुहार देखाउँदैनन् । ०६२÷६३ साल तीरको आन्दोलपछि उनीहरुले गाउँ नै छाडेर काडामाडौँ गए । काठमाडौँ गएको ४÷५ वर्षयता सम्मपनि कहिलेकाहीँ आउने गर्दथे । तर, त्यसयता खासै गाउँ आउदैनन् । आएपनि हेलिकप्टरबाट आउँछन् । हामीलाई के वास्ता? सदरमुकाम जानलाई राम्रो बाटो छैन । बालबच्चाहरु एस.एल.सी दिन बित्तिकै बाहिर पढ्न गईहाल्छन् । गाउँ सुनसान छ ।’

उनिजस्ता गुनासो गर्ने र आफ्नो दुःख पोख्ने सो गाँउमा थुप्रैछन् । देशकै अग्रस्थानमा पुगेका व्यक्तिहरुले आफ्नै गाउँको राम्ररी विकास गर्न नसक्दा समग्र देशको विकास गर्छन् भन्नेमा स्थानीयहरुलाई विश्वास छैन । गाउँले नेता र नेतृमात्र जन्माएको तर विकास जन्माउन नसकेको माडिचौरवासीको गुनासो छ ।