जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १४:५९

इपिएसको परीक्षा दिने १७ जना नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं, जेठ २५

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ । शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी हुन लागेका छन् । इपिएस कोरिया शाखाका अनुसार काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् । इपिएस भाषाको परीक्षा दिने क्रममा आज १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

काठमाडौं र ललितपुरमा सञ्चालन गरिएका विभिन्न परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरिएको एपिएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना अधिकारी सोभाकर भण्डारीका अनुसार उक्त परीक्षा काठमाडौं, ललितपुर र पोखरामा चलिरहेको छ। परीक्षामा ७७ हजार ३ सय ९३ पुरुष र १४ हजार ९ सय ८३ जना महिला परीक्षार्थी सहभागी हुनेछन् ।

यो वर्ष उत्पादनमूलक क्षेत्रका लागि ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जना परीक्षार्थीले परीक्षा दिनेछन् । कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रतर्फ ७ हजार ५० र कृषि तथा पशुलापन क्षेत्रतर्फ ३ हजार गरी १० हजार ५० जनाको लागि कोटा खुलाएको छ । तुलनात्मक रूपमा रोजगारीको लागि कोरियाली सरकारले मागेको कोटाभन्दा परीक्षामा सहभागी हुने परीक्षार्थीको संख्या झन्डै ९ गुणा बढी रहेको छ । गत वर्षको तुलनामा यो वर्ष परीक्षामा सहभागी परीक्षार्थीको संख्या दश हजारले बढेको शाखाले जनाएको छ ।