जनता टाइम्स

२४ चैत्र २०७७, मंगलवार १४:०७

एमालेमा आफ्नो गुट कमजोर रहेको नेता नेपालको स्विकारोक्ति


काठमाडौं, चैत्र २४

नेकपा (एमाले)बाट निलम्बनमा पर्नुभएका नेता माधवकुमार नेपालले आफुहरु पार्टीभित्र कमजोर रहेको स्विकार गर्नुभएको छ । उहाले केपी ओली अध्यक्ष रहेको पार्टीमा आफ्नो गुटको खैरियत नरहेको सार्वजनिक कार्यक्रमबाटै बताउनु भएको हो ।

आफ्नो गुटको बागमती प्रदेश कमिटीको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले अब आफुहरुसँग सिमित विकल्प मात्र बाँकी रहेको सुनाउनु भयो । उहाले अध्यक्ष ओली समक्ष आत्मसमर्पण गर्ने वा दृढतापूर्वक उभिनेबाहेक आफूहरुसँग अरु विकल्प नरहेको बताउनु भयो । ‘केपी ओली अध्यक्ष रहेको पार्टीमा हामी कसैलाई खैरियत छैन । उनले त हाम्रा साथीहरुलाई टिकट नै दिएनन् । हामी इन्चार्ज भएका ठाउँमा बल्ल बल्ल केही ठाउँ पाइएको थियो । अहिले त इन्चार्जबाट पनि हटाइसकेका छन्’, उहाको भनाई थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकट रहनु भएका नेता नेपालले अर्को पार्टीमा जान सक्ने घुमाउरो संकेत गर्नुभएको हो । यद्यपी उहाले देशभरी नै नयाँ कमिटीहरु गठन हुने क्रम चलेको र यो क्रम नरोकिने बताउनु भयो । पार्टीमा खैरियत नभएको बताउनु भएका नेता नेपालले ७७ जिल्ला मध्ये ४२ जिल्लामा आफूहरुको बलियो उपस्थिति रहेको दाबी भने गर्नुभयो ।