जनता टाइम्स

२५ चैत्र २०७७, बुधबार ११:११

पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु


काठमाडौं, चैत्र २५

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि देशैभर मतदान सुरु भएको हो । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति चयनका लागि एकै पटक मतदान सुरु भएको छ ।

पत्रकार महासंघले यसपटक देखि प्रत्यक्ष निर्वाचन प्रणाली अपनाएको छ । मतदान अपरान्ह चार बजेसम्म जारी रहनेछ । देशभरबाट १३ हजार १ सय ८० पत्रकारहरुले तीन वर्षे कार्यकालका लागि आफ्नो नेता चुन्ने छन् । अध्यक्ष पदका लागि केन्द्रमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिनु भएको छ । अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिनु भएको छ । शर्मा र पोखरेलबीच कडा प्रतिष्पर्धा हुने आकंलन गरिएको छ ।

शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार छन् । यो प्यानलमा बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । यसैगरी सचिव पदमा रामकृष्ण ज्ञवाली (खुल्ला), निमा काफ्ले (महिला), शाहीमान राई (आदिवासी जनजाति), स्वेता सिन्हा (मधेसी), मधु शाही (दलित) र रामेश्वर कार्की (एशोसिएट) उम्मेदवार बनेका छन् । कृष्ण गिरी कोषाध्यक्ष पदमा र द्वारिकाप्रसाद काफ्ले लेखा समितिको संयोजक पदमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार छन् । रोशन पुरी महासचिवको उम्मेदवार छन् । यो प्यानलबाट सचिव पदमा गोविन्द चौलागाई (खुल्ला), पवन आचार्य (एशोसिएट), सिर्जना अर्याल (महिला), नारायण किलम्बु (आदिवासी जनजाती), दिपेन्द्र चौहान (मधेसी), हेमकर्ण विक (दलित) उम्मेदवार छन् । यसैगरी कलेन्द्र सेजुवाल कोषाध्यक्ष र लेखनाथ न्यौपाने लेखा संयोजकमा उम्मेदवार बनेका छन् ।

काठमाडौं उपत्यकाको हकमा प्रतिष्ठान, उपत्यका र एशोसिएटका लागि छुट्टाछुट्टै मतदानस्थल छ । काठमाडौंको हकमा प्रज्ञा भवन कमलादीको केन्द्रबाट मतदान भैरहेको छ । एशोसिएट सदस्यहरुको मतदानस्थल दशरथ रंगशालामा र प्रतिष्ठान सदस्यहरुका लागि १९ वटा केन्द्रमा मतदान भइरहेको छ । काठमाडौं बाहिर भने सम्बन्धित जिल्लामा मतदान जारी छ ।