जनता टाइम्स

२६ चैत्र २०७७, बिहीबार १४:१६

संसदीय समितिमा जिम्मेवारी मिलाइदिन सभामुखसँग एमालेको माग


काठमाडौं, चैत्र २६

सत्तारुढ नेकपा एमालेले सर्वोच्च अदालतको आदेश अनुसार संसदीय समितिहरुमा एमाले र माओवादी केन्द्रको जिम्मेवारी मिलाइदिन आग्रह गरेको छ । समितिमा पार्टीको शक्तिका आधारमा जिम्मेवारी दिन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सभामुखलाई संसदीय समितिमा नेकपा एमाले र माओवादी केन्द्र फरक–फरक दल रहेको स्वीकार्दै हेरफेर गर्न माग गर्नुभयो । समितिमा तत्कालिन नेकपाको आधारमा दुई दलले जिम्मेवारी पाएका थिए । तर, अहिले पार्टी नै अलग भईसकेकाले जिम्मेवारी पनि अलग हुनुपर्ने एमालेको माग रहेको छ ।

‘जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं । यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ । प्रतिनधिसभा नियमावलीविपरीत छ । संसद्ले अब नेकपा जान्दैन’, अधिकारीले भन्नुभयो, ‘बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्‍यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं ।’

अधिकारीले त्यसरी आफूहरूलाई नेकपा भएर संसदीय समितिमा बस्न बाध्य पार्नु असंवैधानिक रहेको बताउनु भयो । ‘हामी संवैधानिक हुन चाहन्छौं भनिरहँदा पनि पाएनौं । संवैधानिक हुन चाहन्छौं । संसदीय व्यवस्थाअनुसार हामीले समितिको प्रतिनिधित्व विगतदेखि दलको शक्तिको आधारमा हामीले अनुपातमा गर्दै आएका छौं’, उहाको भनाई छ । सभामुख सापकोटाले संसदीय समितिमा हेरफेरका लागि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर हुने जानकारी गराउनु भएको थियो ।