जनता टाइम्स

२७ चैत्र २०७७, शुक्रबार १४:४५

चार जना मन्त्रीको पुनर्नियुक्ति, यथावस्थामा ६ महिना काम गर्न पाउने


काठमाडौं, चैत्र २७

माओवादी केन्द्रले संयुक्त गठबन्धनबाट लडेर चुनाव जितेकाको सांसद पद खारेज गरिदिएका चार मन्त्रीले पुनर्नियुक्ति पाउनु भएको छ । पुनर्नियुक्ति भएसँगै उहाँहरूले आजै अपरान्ह शपथ लिनु हुनेभएको छ । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबार ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी बन्नु भएको थियो । रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेमा लाग्नु भएको छ ।

भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको र पुनर्नियुक्तिपनि सोही मन्त्रालयमा गरिएको छ । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।