२८ चैत्र २०७७, शनिबार ००:००

सरकार निर्माण : जसपाद्वारा च्याप्टर क्लोज, प्रचण्ड निराश


काठमाडौं, चैत्र २८

नयाँ सरकार जसरी पनि गठन गर्ने माओवादी केन्द्रको हुटहुटीलाई तत्काल जनता समाजवादी पार्टी (जसपा)ले बन्द गरिदिएको छ । विना एजेण्डा केवल सरकारको विकल्प खोजिरहेको माओवादी र त्यसमा सहयोग गरिरहेको कांग्रेसको रामचन्द्र पौडेल पक्षको चाहनालाई जसपाले तत्काल सम्भव नभएको जवाफ दिएको हो ।

पौडेल पक्षको गनगन सुन्न नसकेर कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आव्हान गरिदिएका थिए । त्यो बैठक नयाँ सरकार गठनका लागि भन्दा राजनीति कस्तो छ भनेर सबै नेतालाई देखाउन बोलाइएको थियो । भयो पनि त्यस्तै, न त कुनै निष्कर्ष निस्कियो, न त कुनै दल भित्र नयाँ सरकार बन्छ भन्ने विश्वास नै पैदा भयो । हात लाग्यो त केवल निराशा ।

देउवाले आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राख्नु भएको थियो । ओली नेतृत्वको सरकारसँग पनि समदूरीको सम्बन्ध बनाइरहेका जसपाका नेताहरूले देउवाको प्रस्तावलाई ‘पर्ख र हेर’ रणनीतिअन्तर्गत तत्काललाई तामेलीमा राखेका छन् । सरकारले आफ्नो माग पूरा गर्नेतर्फ काम गरिरहेको खबरसमेत जसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा सुनाइदिनु भएपछि कांग्रेस र माओवादी छर्लङ भएका थिए ।

जसपाका नेताहरूले आफूहरू सरकारभन्दा पनि एजेन्डामा केन्द्रित भएकाले त्यसलाई पूरा गराउने दिशामा लागेको जवाफ बैठकमा दिएका छन् । ‘सरकार बनाउने प्रस्ताव ल्याउनुभयो तर हामीले पार्टीभित्र यो विषयमा कुनै छलफल गरेका छैनौं,’ बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो, ‘पार्टीमा छलफलपछि मात्र हामी निर्णयमा पुग्छौं ।’ जसपा नेताहरूले आफ्ना नेता–कार्यकर्तामाथि राजनीतिक आन्दोलनलगायत क्रममा लागेका झूटा मुद्दाबारे सरकारसँग कुराकानी भइरहेको पनि सुनाएका थिए ।

यो विषय सुनेपछि बैठकमा सबैभन्दा निराश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्नु भएको एक नेताले जानकारी दिनुभयो । यो साता नै आफुहरुको नयाँ सरकार बन्ने घोषणा गर्नुभएका प्रचण्ड निराश हुदै देउवा निवासबाट बाहिरिनु भएको थियो । माओवादी कै नेताहरुका अनुसार प्रचण्डसँग अब दुई वटा विकल्पमात्र रहेको बताउछन् । कि सरकारलाई पूर्ण समर्थन गरेर जानुपर्यो नभए दिएको समर्थन तत्काल फिर्ता गर्नुपर्यो ।