२८ चैत्र २०७७, शनिबार ००:००

राष्ट्रपतिबाट वितरित विभूषण नयाँ नक्शा आउनु अगाडिकै हो : गृह मन्त्रालय


काठमाडौं, चैत २८

राष्ट्रपतिबाट वितरण भएको विभूषणहरुमा नेपालको नयाँ नक्शा प्रयोग नभएको भन्दै प्रश्न उठेपछि गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । विभूषणको घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरुमा अंकित भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार २०७६ सालको असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा भइ २०७७ साल वैशाख १ गते वितरणका लागि यी विभूषण तयार पारिएका थिए ।

कोभिड-१९ का कारण उक्त समयमा वितरण सम्भव नभएकाले हाल सुशोभन भएको मन्त्रालयले जनाएको छ । नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नयाँ नक्सा अंकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको सुशोभन आगामी २०७८ वैशाख १ गते गरिने मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभएको छ ।