काठमाडौं, चैत्र २८
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित हुनु भएको छ । चैत्र २५ गते भएको मतदानको शनिबार अपराह्न सकिएको मतगणनाबाट पोखरेल विजयी हुनु भएको हो ।
अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो । उहाका निकटतम प्रतिद्धन्दी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गर्नुभयो । गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनुभयो । समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी विजय बन्नु भयो । खुला सचिवमा गोविन्द्रप्रसाद चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित बन्नुभयो । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभयो । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुँदा सदस्यमा छविलाल तिवारी विजयी बन्नुभएको छ ।

खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी हुनु भयो । त्यस्तै सरिता तिम्सिना (खस–आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित बन्नुभयो । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो ।






प्रतिक्रिया दिनुहोस्