जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १६:२१

बालबालिकालाई आकर्षण गर्ने शिक्षा चाहिन्छ : मन्त्री थापा


गलकोट, जेठ २५

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको प्रयोग, दिवा खाजा, खेलकूद तथा मनोरञ्जन र अन्य संरचनाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

आज बागलुङमा नेपाल बाल सङ्गठनद्वारा संरक्षित नेपाल सरकारबाट सञ्चालित बालमन्दिर आधारभूत विद्यालयको निरीक्षणपछि बोल्दै मन्त्री थापाले बालबालिकाको अधिकार स्थानीय तहलाई प्रदान गरेका कारण सबैभन्दा जिम्मेवार स्थानीय तह बन्नुपर्ने बताउनुभएको छ । ‘‘बालबालिकाको विषयमा सबै निकाय गम्भीर छन्’’ मन्त्री थापाले भन्नुभयो, “विद्यार्थीलाई भौतिक पूर्वाधार मात्र भएर हुँदैन, गुण्स्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ ।”

बालबालिकालाई विद्यालय जाउँ÷जाउँ जस्तो वातावरण तयार गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समन्वयकारी भूमिका खेल्नमा सक्दो पहल गर्ने बताउनुभयो । विद्यालयमा भौतिक पूर्वाधार सम्पन्न भए पनि गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग गर्नका लागि विद्यालका प्रधानाध्यापक मिठू पौडेल क्षेत्रीले मन्त्री थापाको ध्यानाकर्षण गर्नुभएको थियो ।

मन्त्री थापाले जनशक्ति व्यवस्थापन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । विद्यालयमा हाल बाल कक्षादेखि कक्षा आठसम्म ११४ जना विद्यार्थी अध्यनरत रहेका छन् । विद्यालयमा हाल छ सरकारी दरबन्दी र नेपाल बाल सङ्गठनको निजी स्रोतबाट तीन जना शिक्षक रहेको विद्यालयले जनाएको छ ।