जनता टाइम्स

३० चैत्र २०७७, सोमबार १६:४३

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : मलाई तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाऊ


काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने बटमलाइन सुनाउनु भएको छ । नेकपा माओवादी केन्द्रले राजीनामाको माग गरिरहेकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन मन भए समर्थन फिर्ता लिन चुनौतीसमेत दिनुभएको छ ।

काठमाडौंमा आज आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमत हुँदाहुँदै किन राजीनामा दिने भन्दै प्रश्न गर्नुभयो । ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन, फिर्ता लैजाऊ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीबिरुद्ध अनेकन षडयन्त्र गरिरहे पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । प्रधानमन्त्री ओलीले यही बिषयमा आफ्नो प्रष्ट बटमलाइन सुनाउनु भएको हो ।

आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै प्रधानमन्त्री ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताउनु भयो । उहाँले माओवादी अध्यक्ष प्रचण्ड समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता धाक धक्कुसँग डराइन्न ।’

उहाँले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको भन्दै संसदले काम गर्न नसक्ने आफ्नो पुरानै निश्कर्ष पनि दोहोर्याउनु भयो । अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरू पनि संसद विघटनको विकल्प छैन भनेर चुनावको पक्षमा उभिएको तर माओवादी र माधव नेपालहरू भने चुनावबाट भागिरहेको बताउनु भयो ।