जनता टाइम्स

१ बैशाख २०७८, बुधबार ०७:४६

यसरी पर्दाफास भयो किर्ते नागरिकताको आडमा नेपालीको जग्गा हडप्ने भारतीयको षडयन्त्र


विराटनगर, बैशाख १ । किर्ते कागजात पेस गरेर नेपाली नागरिकता लिएका एक भारतीयले विराटनगरमा नेपाली नागरिकको नाममा रहेको जग्गा हडप्ने प्रयास गरिरहेको तथ्य बाहिर आएको छ । भारतको अररीया जिल्लास्थित नरपतगञ्जका बासिन्दा ५९ वर्षीय अनिरुद्ध शर्माले विराटनगर महानगरपालिका–५ स्थित चाँदनी चोकमा रहेको सीतादेवी रायको जग्गा हडपेर आफ्नो नाममा पार्न खोजेको पाइएको हो ।

शर्माले आफू नेपाली नागरिक भएको दाबीसहित रायको नामको लाखौँ मूल्य पर्ने एक कट्ठा आठ धुर जग्गा कब्जा गर्न मुद्दामामिला गरिरहेको खुलेको छ। तर नेपाली नागरिकको जग्गा हडप्न खोजेका शर्मा भने भारतीय नागरिक भएको प्रमाण फेला परेको छ। नागरिकता वितरण टोलीमार्फत २०६३ साल माघ ७ गते अनिरुद्धले सुनसरीको दुहवी–६ बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको पुष्टि भएको छ। भारतीय नागरिक रहेका शर्मा अहिले परिवारसहित विराटनगरको चाँदनी चोकमा बसोबास गरिरहेका छन्।

गत फेब्रुअरी १५ मा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको भारतीय मतदाता नामावलीमा नाम समावेश रहेका शर्माको जन्ममिति सन् १९६२ जनवरी १ र बुवाको नाम मुन्नर शर्मा उल्लेख छ। उनको नाममा एसपीजे ०२३९३३५ नम्बरको मतदाता परिचयपत्र छ। शर्मा भारतबाट २०५० सालमा कवाडीको काम गर्ने नाममा नेपाल छिरेर सुनसरीको दुहवीमा बसोबास गर्न थालेको स्थानीयको भनाई छ । उनले २०५५ सालमा दुहवीकै आरती देवीसँग उनले बिहे गरेका थिए। भारतीय मतदाता नामावलीमा आरतीको पनि नाम छ।

भारतीयसँग बिहे गरेपछि मतदाता परिचय पत्रमा नाम समावेश भइसकेर उतैको नागरिक बनिसकेका कारण आरती पनि अब नेपाली नागरिक रहिनन्। तर २२ वर्षअघि भारतीय नागरिकसँग बिहे गरेकी उनले पनि नेपाली नागरिकता त्यागेकी छैनन्। बरु उल्टै उनकै श्रीमान भारतीय नागरिक अनिरुद्धले किर्ते गरेर जन्मसिद्धका आधारमा नेपाली नागरिकता लिन सफल भएको तथ्य फेला परेको छ। वितरण टोलीबाट अनिरुद्धले ०३३००९/३२५ नम्बरको नेपाली नागरिकता लिएको पुष्टि भएको छ।

सुनसरीको दुहवी–६ बाट नागरिकता लिएपछि उनी त्यहाँ नबसिकन विराटनगर सरेका थिए। नेपाली नागरिकतामा उनको जन्म मिति २०२७ भदौ ११ गते र बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ।

भारतीय मतदाता परिचयपत्रका आधारमा उनको उमेर ५९ वर्ष हुन्छ। तर नेपाली नागरिकताका आधारमा भने उमेर ५० वर्ष मात्रै देखिन्छ। भारतमा बुवा मुन्नर शर्माको नामबाट नागरिकता लिएको देखिन्छ। नेपालमा बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ। आफ्नो नाम पनि भारतमा अनिरुद्ध शर्मा र नेपालमा अनिरुद्र शर्मा भनेर लेखाएको पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीबाट खटिएका नागरिकता वितरण टोलीका प्रमुख पुन्यराज भट्टराईले भारतीयलाई नेपाली नागरिकता दिएको फेला परेको बिराटनगरमा खोज पत्रकार पत्रकारद्वय रविन भट्टराई र किशोर बुढाथोकीले अनुसन्धान गरेको तथ्यले फेला पारेको हो ।

नेपाली नागरिकता पाएपछि दुहवी छाडेका उनी विराटनगर आएर मितेरी साइनो जोड्दै उत्तमकुमार रायको जग्गामा बस्न थालेका हुन्। उत्तमकुमारले कित्ता नम्बर २९३८ नम्बरको एक कट्ठा आठ धुर जग्गा प्रमीलादेवी साहसँग २०६५ सालमा खरिद गरेर श्रीमती सीतादेवीको नाममा राखेको देखिन्छ। मितेरी साइनोमा जोडिएका अनिरुद्धलाई उत्तमकुमारले श्रीमतीको नाममा रहेको त्यही जग्गामा आवश्यकता परेका बेला खाली गरिदिने सर्तमा एउटा घर बनाइदिँदै २०६६ सालबाट बस्ने व्यवस्था मिलाइदिएको स्थानीयको भनाइ छ।

तर जग्गा खाली गर्न २०७६ साल कात्तिक २४ गते आग्रह गर्दा अनिरुद्धले अटेर गरेको उत्तमकुमारले बताए। तर जग्गा आफ्नो भएको दाबीसहित अनिरुद्ध वडा कार्यालयमा पुगेको उनले बताए। यस विषयमा छलफल भएपछि २०७६ साल चैत मसान्तसम्ममा जग्गा खाली गरिदिने सहमति कागजमा हस्ताक्षर गरेर अनिरुद्ध फर्किएको वडाध्यक्ष मीनकुमार आचार्यले जानकारी दिनुभयो । अनिरुद्धले जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पुर्‍याउन नसकेको आचार्यको भनाइ छ। उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा, वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए।

वडाध्यक्ष आचार्यका अनुसार उत्तमकुमारकी श्रीमती सीतादेवीको नाममा रहेको जग्गामा बसोबास गरिरहेका अनिरुद्धले पछि आफ्नो भएको भन्दै जग्गा खाली गर्न नमानेपछि मुद्दाका रुपमा उठान गरेर महानगरपालिकाको न्यायिक समितिमा पठाइयो। तर अनिरुद्धले भने समितिले गराउन खोजेको मिलापत्रलाई पनि अस्वीकार गरिदिए। त्यसपछि समितिले २०६५ सालमा खरिद गरेर भोगचलन गरेको जग्गा सीतादेवीकै भएको ठहर २०७७ साउन ५ गते गरिदियो। महानगरको न्यायिक समिति संयोजकमा उपमेयर इन्दिरा कार्की र सदस्यहरुमा वडाध्यक्ष विनोदकुमार बस्नेत तथा तीर्थेन्द्र न्यौपाने छन्।

निवेदनका आधारमा मात्रै पुष्टि नभएको र वादीले दाबी गरे अनुसार भरपर्दो प्रमाण पेस गर्न नसकेको ठहर समितिको छ। ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ ९ज० बमोजिम वादीको दाबी नलाग्ने ठहर्छ। सहमतिको पनि वादीबाट अवज्ञा भएको देखिन्छ। त्यही भएकाले प्रतिवादीको जग्गा वादीले तत्काल खाली गरिदिनु पर्ने ठहर्छ’, समितिको फैसलामा भनिएको छ।

तर अनिरुद्धले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालत मोरङमा उत्तमकुमारलाई प्रतिवादी बनाएर २०७७ असोज २ गते रिट निवेदन दायर गरे। आफूले किनेको र किन्दा तीन लाख ५० हजार ऋण लिएका कारण उत्तमकुमारको नाममा त्यतिबेला आफूले जग्गा पास गरिदिएको दाबी निवेदनमा गरिएको छ। तर पछि जग्गा मेरो नाममा फिर्ता दिनुभन्दा उत्तमकुमारले नमानेको र उल्टै धाकधम्की दिएर आफैलाई हटाउन खोजेको दाबी अनिरुद्धको छ।

जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गत पुस २० गते स्थानीय न्यायिक समितिको निर्णय कानुन बमोजिम नै रहेको र त्यो नै सदर हुने फैसला गरिदिएको छ। ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९७ बमोजिम फैसला गरिएको छ। न्यायिक समितिले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहरी फैसला भएकाले केही गरिरहनु परेन’, अदालतको फैसलामा भनिएको छ।