जनता टाइम्स

१ बैशाख २०७८, बुधबार १५:०४

सत्ताको खेलले जनमोर्चा पनि विभाजित : केन्द्र कांग्रेस–माओवादीतिर, प्रदेश भने एमालेकै पक्षमा



काठमाडौं, बैशाख १ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पनि विभाजित हुने अवस्थामा पुगेको छ । केन्द्र एकातिर र प्रदेश अर्कैतिर भएसँगै जनमोर्चा पनि विभाजित हुने अवस्थामा पुगेको हो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको भन्दै विज्ञप्ति निकाल्नु भएकपछि सो पार्टी बिभाजनको सम्मुखमा रहेको तथ्य बाहिर आएको हो । अध्यक्ष केसीले गण्डकी सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई दिइएको समर्थन फिर्ता लिइएको जनाउनु भएपनि जनमोर्चा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापाले भने त्यस्तो कुनै निर्णय नभएकोे प्रष्ट पार्नुभयो ।

‘म प्रदेश संसदीय दलको नेता मात्र नभएर केन्द्रीय नेता पनि हुँ, प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएकोबारे अहिलेसम्म कुनै निर्णय भएको छैन, प्रदेशमा जानकारी पनि आएको छैन,’ केसीको बिज्ञप्तीलाई काउन्टर दिँदै नेता थापाले भन्नुभयो । आफूहरु मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पक्षमा रहेको निर्णय पनि उहाँले सुनाउनु भयो । ‘म फेरि पनि भन्छु, पार्टीको निर्णयबारे कुनै जानकारी छैन, हामी मुख्यमन्त्रीकै पक्षमा छौं,’ थापाले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको भन्दै समर्थन फिर्ता लिइएको जनमोर्चाका अध्यक्ष केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रदेश सरकारका क्रियाकलापहरुले प्रतिगमनलाई मद्दत पुग्छ, त्यसकारण गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ केसीले भन्नुभएको छ । गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेर माओवादी केन्द्र र नेपाली कांग्रेस जो आएपनि समर्थन गर्ने तर सरकारमा सहभागी नहुने समेत केसीले विज्ञप्तिमा लेख्नुभएको छ । तर प्रदेस संसदीय दलका नेता नै उहाँको बिपक्षमा खडा हुनुभएको छ ।

केन्द्रको दबाबमा प्रदेश सांसद्ले समर्थन फिर्ता लिए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार संकटमा पर्न सक्छ । यद्यपि मुख्यमन्त्री गुरुङलाई अरु दलले समर्थन गर्न सक्ने सम्भावना पनि छ । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्य गरिरहेका छन् । गण्डकी प्रदेशमा ६० जना सांसद् रहेकोमा एमालेका मात्रै २७ सांसद् छन् । तीमध्ये स्वतन्त्र सांसद् दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा हुनुहुन्छ । सरकारमा टिक्न एमालेलाई अव ३ सांसद् चाहिन्छ । प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद् छन् ।