जनता टाइम्स

२५ जेष्ठ २०७६, शनिबार १८:१५

रेमिट्यान्सलाई शेयर बजारमा लगाउन अर्थमन्त्रीको आग्रह


काठमाडौं ।

अर्थमन्त्री डा युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिनु भएको छ ।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७ औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले शेयरबजारलाई नै प्रभावित पार्ने गरि हुने क्रियाकलापको नियमनमा चनाखो बन्न बोर्डलाई निर्देशन दिनु भएको हो । मुलुकको अर्थतन्त्र उदयीमान रहेको भन्दै उहाले बैकिङ प्रणाली लगायतका धेरै कम्पनी नाफामा रहेको र त्यसको प्रतिबिम्ब नै शेयर बजार देखिने भएकाले शेयर बजारलाई उत्तेजित र गिराउने प्रवृति रोक्नका लागि बोर्ड सधै चनाखो हुनुपर्ने बताउनु भयो ।‘मौद्रिक नीतिको छायाँ धितोपत्र बजार हुनुहुँदैन’, उहाले भन्नुभयो, ‘व्याजदर अस्वभाविक रुपमा माथि गयो भने धितोपत्र बजारमा के हुँदो रहेछ भन्ने कुरा पनि हामीले देख्यौ।‘

मन्त्री खतिवडाले रेमिट्यान्सबाट आएको पैसालाई शेयर बजारमा लगाउनका लागि बैंक र बोर्ड आपसमा मिलेर योजना बनाउन पनि आग्रह गर्नुभयो । उहाले दोहोरो अंकको आर्थिक वृद्धिको बाटोमा मुलुक रहेको बताउँदै पाँच वर्षमा १० प्रतिशत आर्थिक वृद्धिदर पुर्याउन खर्बौ लगानी आवश्यक पर्ने बताउनु भयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘साढे आठ प्रतिशतको आर्थिक बृद्धिको कुरा गरिरहदा निजी क्षेत्रको दुई तिहाइ लगानीको अपेक्षा गरेका छौ। हामीलाई निजी क्षेत्रको लगानी घटीमा १० खर्बको पुर्याउनु पर्छ। बैंकिङ प्रणालीबाट सिडी, सिसिडी र क्यापिटल एडिक्वेसी हिसाव गरेर लगानी गरेर पुग्दैन। त्यही भएर पूँजी जुटाउने वैकल्पिक उपाय भनेको पूँजी बजारनै हो।