जनता टाइम्स

३ बैशाख २०७८, शुक्रबार १४:५८

रुरु हाइड्रोको आइपिओ बाँडफाँड,९२ हजार बढीको रद्द, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं, वैशाख ३

रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट रु दुई दुई करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो ।

आवेदन दिएकामध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले दश कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिनुभयो । रीतपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अङ्कित मूल्यमा रु २० प्रिमियम थप गरेर प्रतिकित्ता रु १२० मा शेयर बिक्री गरिएको थियो । कम्पनीले चार लाख सात हजार ७०६ कित्ता आइपिओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये आठ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

यसअघि गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि चार लाख सात हजार ७०५ कित्ता शेयर निष्काशन गरेको थियो । आइपिओको नतीजा मेरो शेयर, सिडिएसले आइपिओ नतीजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

कसरी हेर्ने नतिजा

सिडिएस एन्ड क्लियरिङले आईपीआको नतिजा हेर्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्काशन भएका धितोपत्र बाँडफाँडको नतिजा हेर्न सिडिएसले ल्याएको नयाँ वेबसाइट iporesult.cdsc.com.np मार्फत रुरु जलविद्युतमा आफूलाई सेयर परे नपरेको हेर्न सकिनेछ ।

रिजल्ट रुरु जलविद्युत परियोजनाको परियोजनाको वेबसाइट र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटमार्फत पनि हेर्न सकिनेछ । सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np बाट पनि नतिजा हेर्न सकिनेछ ।