काठमाडौं, बैशाख ३
कर्णाली प्रदेशसभामा शुक्रबार देखिएको मत विभाजन नेकपा एमालेभित्र कित्ता क्लियर भएको संकेत गरेको छ । कारवाहीमा परेका माधवकुमार नेपाल पक्षसँग विश्वास गर्ने आधारहरु अब मेटिन थालेको आशंकालाई विहिवारको घटनाले थप बल पु¥याएको देखिएको हो ।
यसले गर्दा पार्टीभित्र एकताको कुरा गर्ने, निर्णय गर्दा आपत्ति नजनाउने र निर्णायक अवस्थामा धोका दिने कुरा पार्टीका लागि गम्भिर विषय भएको संस्थापन पक्षले जानकारी दिएको छ । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नुभएका सांसद प्रकाश ज्वालाले केन्द्रकै निर्देशनमा माओवादी केन्द्रलाई मत हालेको प्रतिक्रिया दिनु भएको छ । जसले गर्दा अब नेपाल पक्ष एमाले नरहेको र माओवादी प्रवेश गरिसकेको पुष्टि भएको एक नेताले बताउनु भयो ।
‘माधव नेपाल पक्षहरु हुतिहारा हुनुहुँदो रहेछ, कम्तिमा एमालेमा लागेका माओवादी केन्द्रका सांसद त खुलम्मखुल्ला आउनु भयो’, ति नेताले भन्नुभयो, ‘उहाहरुमा त राजनीति संस्कार पनि देखिएन, लुकेर छुरा प्रहार गर्ने काम गर्नुभयो, कायरको जस्तो ।’ केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई सच्चिएर आउन अपिल गरिरहँदा सो पक्ष भने समानान्तर कमिटी गठन गर्दै हिडिरहेको छ ।
एमाले नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समानान्तर गतिविधि गर्दै गए गन्तब्य कर्णालीकै जस्तो हुने प्रतिक्रिया दिनु भएको छ । ‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौ, पार्टी र आन्दोलनको रक्षाका लागि निशर्त पार्टी काममा जुटौ’, उहाले भन्नुभयो ।
एमालेले विपक्षीमा मत हाल्ने सांसदलाई विधान र कानुनअनुसार कारवाही भने गर्ने भएको छ । एमालेको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने तयारी भएको छ । कर्णालीको एमाले संसदीय दलले ह्विप उल्लघंन गर्नेलाई कारवाहीको सिफारिस गरिसकेको छ । सोही अनुसार प्रदेश र केन्द्रले निर्णय गर्नेछ ।
यस घटनाले माधव नेपाल पक्षमा उभिएका कतिपय सांसद अब पार्टीको निगरानीमा पर्ने भएका छन् । साथै उनिहरुलाई अहम अवस्था भन्दा अगाडी नै नेतृत्वलाई लगाम लगाउन पनि कर्णाली घटनाले सहयोग पुग्ने देखिएको छ । जसले गर्दा पार्टीभित्र अब नेपाल पक्ष झनै कमजोर र आशंकाको घेरामा उभिन बाध्य हुने भएको छ ।













प्रतिक्रिया दिनुहोस्