जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार ०८:०७

विप्रेषणबाट प्राप्त रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न अर्थमन्त्री खतिवडाको सुझाव


काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले विप्रेषणबाट प्राप्त भएको रकमलाई शेयर बजारमा लगाउने उपायको खोजीमा लाग्न नेपाल धितोपत्र बोर्ड तथा बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नुभएको छ । विप्रेषणबाट प्राप्त हुने रकम घरजग्गालगायत अन्य दैनिक उपभोगका क्षेत्रमा मात्रै खर्च भइरहेकाले सो रकम शेयर बजारमा मात्रै लगाउनसके अर्थतन्त्रमा केही न केही सुधार हुने अर्थमन्त्रीको सङ्केत थियो ।

नेपाल धितोपत्र बोर्डको २७औँ वार्षिकोत्सवमा मन्त्री खतिवडाले देशको अर्थतन्त्र क्रमशः सबल बन्दै गएकाले त्यसको प्रतिविम्बन शेयर बजारमा पनि देखिने उल्लेख गर्नुभयो । मन्त्री खतिवडाले शेयर बजारलाई अनावश्यकरुपमा बढाउने र घटाउने प्रवृत्तिको निरुत्साहनका लागि पनि सम्बद्ध निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

बजारमा देखिएका अन्योलता हटेको र सुधारको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उहाँले शेयर खरीद बिक्रीमा लाग्ने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतमा झार्ने प्रस्ताव गरिएकाले अन्योलता हटेकाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिनुभयो । “हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हेर्यौं । शहरी घरजग्गामा महिलाको स्वामित्व आठ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको छ । सानो एउटा सुधारले पनि ठूलो प्रभाव पर्छ,” अर्थमन्त्रीले भन्नुभयो ।

शेयर बजारमा महिलाका स्वामित्व लगानी बढाउन अवलम्बन गर्नुपर्ने उपायको गृहकार्य बोर्डले गर्नुपर्ने अर्थमन्त्रीको जोड थियो । कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।