जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १०:३६

माधवलाई प्रधानमन्त्री ओलीको सुझाव : गुटबन्दी नगर्न सम्झाइरहेका छौं, यसलाई कमजोरी नठानिओस


काठमाडौं, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ ।

तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको बताउनुभयो । ओलीले बुधवार साँझमात्र माधव नेपालसँग एक्लै वार्ता गर्नुभएको थियो ।

उहाँले सो वार्तामा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताउनुभएको थियो । दुई नेताबीच आज पनि वार्ता हुने बताइएको छ । ‘कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ, भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने, उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न,’ उहाँले भन्नुभयो ।