जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार ११:२४

समर्थन फिर्ता लिन यसकारण डराए प्रचण्ड


काठमाडौं, बैशाख ९ । नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदा हुनसक्ने संभावित जोखिमको मुल्यांकण गर्दै माओवादीले समर्थन कायमै राखेर निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) लाई दिइएको ,’ पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो । प्रधानमन्त्री ओलीबिरुद्ध आपत्तिजनक आक्षेप लगाएर पार्टी नै बिभाजनमा जानुभएका प्रचण्डले नै बैठकमा समर्थन फिर्ता लिँदा आउन सक्ने चुनौतीलाई हेरेर निर्णय नगराई आफूमा अधिकार लिनुभएको एक नेताले जनताटाइम्सलाई जानकारी दिए ।

उनका अनुसार सरकार ढाल्न सक्ने संभावना कम रहेको र समर्थन फिर्ता लिँदा निर्वाचनमा जानु परे पार्टीलाई गम्भीर घाटा हुने बिश्लेषण बैठकमा प्रचण्डले गराउनु भएको थियो । सरकार पनि बन्न नसक्ने, समर्थन पनि फिर्ता लिने काम गर्दा सर्वाेच्चले संसद पुनःस्थापना गरिदिए पनि फेरि चुनावमै जानुपर्ने हुनसक्छ, त्यो बेला जनताको नजरमा ओली सही, हामी नै गलत हुन्छौं, त्यो अवस्था आउन दिनुहुन्न, बैठकमा प्रचण्डको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।

माओवादीले प्रधानमन्त्री ओलीको चर्काे आलोचना गर्दै आएको छ भने सरकार परिवर्तनका लागि पनि प्रयास जारी राखेको छ । तर सरकारलाई दिएको समर्थन फिर्ता लिन भने यही कारण हिच्किचाएको छ ।