जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार ११:४४

बल्खुबाट प्रधानमन्त्री ओलीको एमालेजनलाई सन्देश : अराजकलाई अब पार्टीमा ठाउँ मिल्दैन


काठमाडौं, बैशाख ९

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब अराजकलाई ठाउ नमिल्ने सन्देश प्रवाह गर्नुभएको छ । उहाले विशेषगरी कर्णालीमा भएको घटनालाई नेपालको राजनीति कै अराजक गतिविधि भन्दै त्यस्तालाई पार्टीमा ठाउँ नमिल्ने उद्घोष गर्नुभएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय भवन शिलान्यास समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले पार्टीभित्र समानान्तर गतिविधि गरिरहेकालाई स्पष्ट सन्देश दिनु भएको हो । ‘अनुशासनहिनता, अराजकता, पार्टी विरोधी र गुटगत गतिविधिलाई अब कुनै पनि हालतमा मान्यता दिन सकिदैन । व्यक्तिगत तवरमा कुराकानी हुनसक्छ, व्यक्तिगत तवरमा सच्याउने, व्यक्तिगत तवरमा जिम्मेवारी दिने कुरा हुनसक्छ’, उहाले भन्नुभयो, ‘समुहगत रुपमा पार्टीभित्र गुट बनाउने, अनि मेरो गुटको यति भाग भन्ने, यस्ता भागबण्डा अब उप्रान्त पार्टीमा चल्दैन ।’

प्रधानमन्त्री ओलीले पार्टीभित्र गुट भयो भने के हुन्छ भनेर एउटा खेलको सम्झना गराउनु भयो । ‘पार्टीलाई दुईतिरबाट डोरी तानातान जस्तो गर्नुहुदैन । पार्टीलाई एकतिरबाट तान्नुपर्छ, एउटा दिशातर्फ अगाडी बढाउनुपर्छ । पार्टीलाई एकढिक्का बनाएर, एकताबद्ध ढंगले, अनुशासित ढंगले, सही विचारमा आधारित, सदृढ, अनुशासन र व्यापाक संगठन हुनुपर्छ’, उहाको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताउनु भयो । तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिनुभयो । ‘यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ । भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने,उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न’, उहाले बताउनु भयो ।