जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १२:३१

एमाले मुख्यालय आजदेखि थापाथलीमा, कार्यालय उदघाटनसँगै अध्यक्ष ओलीको आयो यस्तो अठोट


काठमाडौं, बैशाख ९

काठमाडौं, बैशाख ९ । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट औपचारिक रुपमा थापाथली सरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान केन्द्रीय कार्यालय उदघाटन गरी औचापरिक रुपमा कार्यालय सञ्चालनमा आएको घोषणा गर्नुभएको हो ।

व्यवसायी सञ्जय अग्रवालको घरलाई भाडामा लिएर एमालले नयाँ पार्टी कार्यालय बनाएको हो । प्रधानमन्त्री ओली गत चैत ११ मा ओली नयाँ कार्यालयको अनुगमन गर्न जानुभएको थियो । एमालेले पार्टी कार्यालय बनाएका नयाँ भवनमा १८ वटा कोठा छन । यो एमालेको अस्थायी पार्टी कार्यालय हो । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आजै ओलीले बल्खुस्थित आफ्नै पुरानो कार्यालय रहेको जग्गामा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष ओलीले गल्ती महशुस गरेर पार्टीको मर्मअनुसार अघि बढन चाहने हरेक नेता– कार्यकर्तालाई जिम्मेवारी दिने प्रष्ट पार्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबारबल्खुमा आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँडदा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको प्रष्ट पार्नुभएको हो । ‘गल्ती महसुस गरेर अनुशासित भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं । तर यसलाई कसैले कमजोरी नठानियोस,’ ओलीले भन्नुभयो । कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने भनाई पनि प्रधानमन्त्रीको थियो ।

प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्य बाटै निकालेको तथ्य पनि उल्लेख गर्नु भयो । टाउको मै हान्न सके जीउ जति बलियो भए पनि काम लाग्दैन त्यसैले मलाई कारबाही गरियो, उहाँले भन्नुभयो । अब उप्रान्त पार्टीमा भागबण्डा नहुने पनि उहाँले प्रष्ट पार्नुभयो । विसं २०५१ मा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय भूकम्प प्रतिरोधि हुने यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबैभन्दा अत्याधुनिक हुने जानकारी पनि कार्यक्रममा दिइयो ।