जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १६:३५

मेरियटबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्दै प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल


काठमाडौं, बैशाख ९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो भेटबार्ता सुरु भएसँगै नक्सालस्थित मेरियट होटलबाट नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र नेता नेपालबीच केहीबेर अघिबाट नक्सालस्थित मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

मेरियटको कोठा नम्बर ९०१ मा भेटका क्रममा खिचिएको अध्यक्ष ओली र नेता नेपालको तस्बिर राख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नुहुँदै ।’

यसअघि हिजो साँझ पनि दुई नेताबीच मेरियट होटलमा लामो छलफल भएको थियो । सोही छलफलमा नेता नेपालले आफ्नो समुहका नेताहरुसँग छलफल गरी पुनः बार्तामा बस्ने बताउनु भएपछि एकताका लागि हदैसम्म लचक हुनुभएका अध्यक्ष ओलीले आज पनि बार्ताका लागि प्रस्ताव गर्नुभएको थियो । हिजोको बार्तामा भएको सहमतिअनुसार दुई नेताबीच आज पुनः भेटवार्ता सुरु भएको हो ।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे जानकारी दिँदै पार्टीमा रहेर काम गर्न नेता नेपाललाई सुझाउनु भएको थियो । हिजोको भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको थियो । यद्यपी सहमति भने हुन सकेको थिएन । चार महिनादेखिको संवादहीनता तोड्दै दुई शीर्ष नेता वार्तामा बस्नुभएको थियो ।