जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १७:५३

माधवले लिएनन कर्णाली घटनाको जिम्मेवारी, आफूले निर्देशन नदिएको प्रष्टिकरण


काठमाडौं, बैशाख ९

एमालेका निलम्बित नेता माधवकुमार नेपालले कर्णालीमा भएको राजनीतिक अपराधको जिम्मा लिन अस्वीकार गर्नुभएको छ । नेपाल निकट नेता प्रकाश ज्वालासहित चार जनाले फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकार जोगाएको बिषयमा पार्टीलाई स्पष्टिकरण दिँदै नेता नेपालले सो अपराधपुर्ण घटनाको जिम्मा लिन अस्वीकार गर्नुभएको हो । नेता नेपालसहित प्रतिनिधिसभाका २७ जना सांसदसँग एमालेले स्पष्टिकरण सोधेको छ ।

नेता नेपालले आज सो बिषयमा जवाफ दिँदै कर्णाली घटनामा आफूलाई मुछेकोमा असन्तुष्टि जनाउनु भएको छ । ‘कर्णालीमा मेरो निर्देशन देख्नु तपाईंको गुटगत दृष्टिको परिणाम हो,’ कर्णालीमा भएको राजनीतिक अपराधको जिम्मा लिन अस्वीकार गर्दै नेता नेपालले दिनुभएको प्रष्टिकरणमा भनिएको छ । नेपालको यो प्रष्टिकरणसँगै ज्वालासहित चार जना एमालेबाट निर्वाचित सांसदहरु आफै प्रलोभनमा परेर पार्टी ह्वीप उलंघन गर्दै माओवादी सत्ता जोगाउन लागेको अर्थ लागेको छ ।

यसअघि नेता नेपालले कर्णालीमा ओलीलाई देखाइ दिएको बताउनुभएको थियो । तर सो घटनाका कारण सांसद पद जाने निश्चित भएपछि नेपालले जिम्मा लिन अस्वीकार गरी आफू निकट चार सांसदकै थाप्लोमा दोष थुपार्नुभएको छ । कर्णाली घटनाको जिम्मा लिन अस्वीकार गर्दै जवाफ दिनुभएका नेपालले पुरानै कुरा समेटेर पार्टीलाई स्पष्टिकरण बुझाउनुभएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज पठाउनुभएको जवाफमा माधवले यसअघि दिएकै स्पष्टिकरण दोहोर्याउनु भएको छ ।

निरन्तर समानान्तर पार्टी निर्माणमा लाग्नुभएका नेपालले आफूहरुले नयाँ दल खोल्न लागेको भन्ने आरोप झुठो भएको जिकिर गर्नुभएको छ । ‘नयाँ राजनीति दल खोलेको, खोल्न लगाएको, चलाएको वा चलाउन लगाएको छैन, त्यसका लागि कुनै आधार तयार गरेको पनि छैन,’ नेपालले दिनुभएको स्पष्टिकरणमा भनिएको छ । उहाँले पार्टी विधानको कुनै पनि धाराको व्यवस्थाविपरीत कुनै काम आफूबाट नभएको दाबी पनि गर्नुभएको छ ।