जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १८:३७

बलात्कार आरोपमा होटलबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष


सुनसरी, बैशाख ९ । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परेका छन । गाउँपालिका अध्यक्ष यादवलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवलाई धरान उपमहानगरपालिका वडा नं. १३ को डुकु होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त लजको कोठामा युवतीलाई लगेर जबरजस्ती करणी गरेको सूचना आएपछि इलाका प्रहरी कार्यालय धरानको टोलीले अध्यक्ष यादवलाई बुधबार पक्राउ गरेको थियो ।

धनकुटा जाने सडक किनारमा रहेको होटलमा उनी युवतीसँगै पक्राउ परेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । अध्यक्ष यादवले काममा लगाइदिने होटलमा खाजा नास्ता गराएका थिए । कोठामा पुगेपछि जबरजस्ती करणी गरेको पीडित युवतीले बताएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार यादवलाई जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर हिरासत राखिएको छ ।