जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १९:४८

माधवलाई स्वागत गर्न बिमानस्थलमै पुगे माओवादी नेता


जनकपुर, बैशाख ९ । सत्तारुढ नेकपा एमालेमै फर्किएको घाषणा गरे पनि माधवकुमार नेपालको माया प्रेम पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेकपा माओवादीमै रहेको तथ्य प्रष्ट भएको छ । पारिवारिक कामका लागि जनकपुर आउनु भएका नेता नेपाललाई स्वागत गर्न माओवादी नेताहरु पुगेसँगै यो तथ्य प्रष्ट भएको हो ।

एमालेका निलम्बित नेता नेपाललाई जनकपुर विमानस्थलमा माओवादी नेताद्वय रामचन्द्र झा र रामकुमार शर्माले फुलमाला लगाएर स्वागत गर्नुभएको छ । काठमाडौंमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफललगत्तै जनकपुरधाम आउनु भएका नेता नेपाललाई एमाले भन्दा अग्र भागमा बसेर माओवादी नेताले स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री झा र शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थल पुग्नुभएको थियो । नेता नेपाल यदुवंश झाको नातीको ब्रतबन्ध र मोडल क्याम्पस जनकपुरका संचालक वीरेन्द्र साहको छोराको विवाहमा सहभागी हुन जनकपुरधाम आउनु भएको हो ।