जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १०:२८

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव समुहमाथि कार्वाहीसहित यस्ता छन चार एजेण्डा


काठमाडौं, बैशाख १० । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन र राजनीतिक प्रतिवेदन, समसायिक राजनीतिक घटनाक्रम, आगामी रणनीतिको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

आन्तरिक विवादले पार्टी विभाजन उन्मुख बनिरहेको समयमा सत्तारुढ नेकपा एमालेको बैठकलाई महत्वपर्ण रुपले हेरिँदै आएको छ। कर्णालीमा ‘फ्लोर क्रस’को आत्मघाती रोग एमालेमा देशव्यापी फैलिने सन्त्रास छ। नेता नेपालको नेतृत्वमा देशैभरी समानान्तर संरचना बनिरहेका छन्। नेपाल समुह समानान्तर कमिटीको नाममा पार्टी बिभाजनतिर लागेपछि अध्यक्ष केपी शर्मा ओलीले मंगलबार मात्र नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ३२ सांसदलाई ‘किन नहटाउने ?’ भन्ने स्पष्टीकरण सोध्नुभएको छ । सवै सांसदबाट स्पष्टीकरण जवाफ आइसकेकाले सो विषयमा पनि बैठकमा छलफल हुने एमालेले जनाएको छ।

गत सोमबारको बैठकमा अध्यक्ष ओलीले ३२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही दिनको बैठकले माधव समूहलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय निर्णय गरेको थियो। नेपाल पक्षका नेताले बुधबार मात्रै ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको १४ बुँदे मागसहितको रिटमा आफूहरूलाई गर्न लागिएको निष्कासनको कारवाही बदर गर्न भनिएको छ। आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै खनाल नेपाल समूहले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको हो। सो निवेदनमाथि आइतबार पेशी तोकिएको छ।

यसबीचमा अध्यक्ष ओली रनिलम्बित नेता नेपालबीच दुई पटक भेटबार्ता भएपनि फलदायी बन्न सकेको छैन । बैठकको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले अर्का नेता बामदेव गौतमसँग पनि छलफल गर्नुभएको छ । बिहीबार साँझै प्रधानमन्त्री ओली र वामदेव गौतमबीच पनि भेटवार्ता भएको हो । दुवै नेतासँगको भेटमा अध्यक्ष ओलीले आफू पार्टीलाईउकतावद्ध रुपमा अघि बढाउन चाहेको तर गुटबन्दी स्वीकार्य नहुने बताइ सक्नुभएको छ । प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत हुनुहुन्छ ।

यस्तै मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरूलाई स्पष्टीकरण सोधिएको छ। कर्णालीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ।