जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार १९:४९

शेरबहादुर तामाङलाई एमालेले दियो बिशेष जिम्मेवारी


काठमाडौं, बैशाख १० । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह–इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी समेत दिएको छ । एमालेमा केन्द्रीय कार्यालय सचिव निकै महत्वपूर्ण पद मानिन्छ ।

पूर्वमन्त्री तामाङ प्रतिनिधिसभा पुनःस्थापनाअघि प्रचण्ड–माधव समूह छाडेर केपी शर्मा ओली नेतृत्वको पार्टीमा रहने निर्णय लिनुभएको थियो । लामो समय माधव नेपाल निकट रहेपनि उहाँ पार्टी बिभाजनतिर लागेको कारण तामाङ ओली नेतृत्वको नेकपामै फर्कनु भएको थियो । सर्वाेच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि पनि तामाङ पार्ट अध्यक्ष ओलीको पक्षमा दृढतापुर्वक उभिनुभएको थियो । सोही कारण अध्यक्ष ओलीले तामाङलाई बिशेष जिम्मेवारी थप गर्नुभएको हो ।

यसअघि कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ हुनुहुन्थ्यो । पार्टी एकीकरणपछि ईश्वरी रिजाल र श्रीराम ढकाल कार्यालय सचिव रहेकोमा ढकाल माओवादीतर्फ नै लाग्नुभएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा रहनुभएका इश्वरी रिजाललाई अध्यक्ष ओली प्रमुख रहनुभएको पार्टी स्कूल बिभागको सचिवको जिम्मेवारी तोकिएको छ ।