जनता टाइम्स

११ बैशाख २०७८, शनिबार ०५:४८

कोरोना हटस्पट बन्दै भक्तपुरका दुई नगरपालिका, १० हजार नाघे कूल संक्रमित संख्या


भक्तपुर, बैशाख ११ । भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये दुई नगरमा कोरोना भाइरस संक्रमणका दृष्टिले हटस्पट बन्ने खतरा देखिएको छ । मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका कोरोना भाइरस संक्रमणमा हटस्पट भन्ने दिशातिर अघि बढेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ। सो कार्यालयका प्रमुख कृष्ण मिजारले संक्रमण नियन्त्रण र व्यवस्थापनमा कडाइ नगरे मध्यपुर थिमि र सूर्यविनायक नपामा कोरोना संक्रमणको अवस्था नियन्त्रण बाहिर जाने बताउनु भयो । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालनासँगै संक्रमण फैलिन नदिने अन्य उपाय अपनाउन नगरपालिका अग्रसर हुनुपर्ने उहाँको सुझाव छ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा संक्रमितको संख्या १० हजार एक सय ४९ पुगेको छ। जसमा पुरुष ५ हजार ७ सय ७ र महिला ४ हजार ४ सय ४२ रहेको कार्यालय प्रमुख मिजारले जानकारी दिनुभयो। भक्तपुरका चार नगरमध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ३ हजार ७ सय ३३ जनालाई संक्रमण पुष्टि भएको छ। मध्यपुर थिमिपछि सूर्यविनायक नपामा ३ हजार २ सय ७८ जनालाई संक्रमण भएको छ। भक्तपुर नपामा एक हजार ८ सय ९१ र चाँगुनारायण नपामा ९ सय ३५ जनालाई संक्रमण पुष्टि भएको छ। भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण एकसय २८ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये ८३ पुरुष र ४५ महिला रहेका छन ।

भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ। यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन्। मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ।