जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार २२:४२

माधव नेपालद्वारा एमाले विभाजन गर्ने तयारी : झलनाथ खनालले गरिदिनुभयो नयाँ पार्टीको नामको खुलासा (भिडियोसहित)


काठमाडौं, बैशाख १२

नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले पार्टी विभाजनको अन्तिम तयारी गरिरहनु भएको खुलासा भएको छ । सो खुलासा अरु कसैले नभई उहाकै सहयात्री एंव एमाले नेता झलनाथ खनालले गरिदिनु भएको हो ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा उहाले आफुहरु नयाँ पार्टी गठन गर्न लागेको विषय पटक पटक उठाउनु भएको छ । पत्रकार राजेन्द्र बाँनियाले ‘ओली यहि तरिकाबाट थप पेल्ने बाटोबाट जानु भयो भने तपाईहरुले ठाउँ ठाउँमा फ्लोर क्रस गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा नेता खनालले नयाँ पार्टी गठन हुने बताउनु भयो । ‘हामीले त्यो अर्बिटबाट उ गरेर नेकपा एमाले क्रान्तिकारी भनेर अलिक भिन्न ढंगले पार्टी बनाउनुपर्ने अवस्था आयो भने त्यो पार्टीको त्यत्तिबेला जस्तो प्रकारका नीतिहरु बन्छन्, त्यो नीतिका आधारमा अगाडी बढ्छौं ।

प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट सांसद समेत रहनु भएका नेता खनालले फ्लोर क्रस गर्न सक्ने संकेत समेत दिनुभयो । प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ सांसदले फ्लोर क्रस गर्न सक्ने अवस्थामा रहेको बताईरहेका बेला नेता नेपालले त्यसलाई पुष्टि गर्नुभएको छ । ‘त्यस्तो परिस्थिति (ओलीविरुद्ध अविश्वासको प्रस्ताव) सकेसम्म नआओस् भन्ने होम्रो कोशिस हुन्छ । त्यो परिस्थिति आईहालेछ भने पार्टीभित्र छलफल गर्छौं’, नेता नेपालको भनाई थियो ।

त्यसमा प्रश्न सोध्दै पत्रकार बाँनियाले भन्नुभयो, ‘पार्टीभित्र नभन्नुसन् । कि नेकपा एमाले क्रान्तिकारीभित्र भन्नुहोस् कि हाम्रो समुहभित्र भन्नुहोस् ।’ त्यसमा नेता खनालले भन्नुभयो,‘हैन पहिला हाम्रै समुहभित्र हुन्छ । समुह त दूईवटा देखापरिसकेका छन् । त्यो कुरा त मैले स्विकार गरिसके तपाईसँग । हामी समुहमा छलफल गर्छौं । त्यो समुहले जे निर्णय गर्छ । त्यस बमोजिम हामी अगाडी बढ्छौं ।’