जनता टाइम्स

१३ बैशाख २०७८, सोमबार १३:३५

झलनाथले खोलेको तथ्य : बिभाजन नै हो माधवको लक्ष्य


काठमाडौं, बैशाख १३

सत्तारुढ नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गरी माओवादी केन्द्रमा बिलय हुने प्रष्ट मार्गचित्रसहित अघि बढनु भएको रहस्य बाहिर आएको छ । प्रचण्डसँग मिलेर लामो समयदेखि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभियान चलाउनु भएका बरिष्ठ नेता नेपाल एमालेमै फर्किएको नाटक गरेर एमालेभित्र रहेका आफू निकट युवा नेताहरुको समेत राजनीतिक भविश्य समाप्त पारी प्रचण्डको पाउमा बुझाउने गरी अभियान चलाउनु भएको सोही अभियानमा लागेका तथ्य एक नेताले खोल्नुभएको हो ।

सर्वाेच्च अदालतले एमाले र माओवादी ब्यूँताएपछि एमालेमै फर्किएको नाटक गर्नुभएका नेता नेपालले त्यसयता निरन्तर रुपमा एमालेमाथि धावा बोलिरहनु भएको छ । पार्टी निर्देशनबिपरित राष्ट्रिय कार्यकर्ता भेलाको नाममा समानान्तर कमिटी निर्माणलाई अघि बढाउँदै देशब्यापी बनाउनु भएका नेता नेपालले प्रचण्डसँगकै सल्लाह बमोजिम नेकपा एमाले (क्रान्तिकारी) पार्टीको नाम राखेर एमालेभित्र आफू निकट रहेका नेता–कार्यकर्तालाई बाहिर लैजाने र प्रचण्डको पार्टीसँग एकता भनेर आफू सुरक्षित भइ सवैको भविश्य समाप्त पार्ने योजना बनाउनु भएको पाइएको हो ।

‘माधव कमरेडको प्रष्ट योजना एमालेभित्रका आफू निकट सवै नेता–कार्यकर्ता आफूसँगै नयाँ पार्टीमा लैजाने र चुनावमा माओवादीमा बिलय हुने छ, यसैका लागि उहाँ अभियानमा हुनुहुन्छ,’ माधव नेपाल निकट एक नेताले जनताटाइम्ससँग भने । उनको यो भनाईलाई एमाले बरिष्ठ नेता झलनाथ खनालको भनाईले पनि पुष्टि गरेको छ । बरिष्ठ नेता खनालले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बाँनियासँगको कुराकानीमा आफुहरु नयाँ पार्टी गठन गर्न लागेको विषय पटक-पटक उठाउनुभयो ।

पत्रकार बाँनियाले ‘ओली यही तरिकाबाट थप पेल्ने बाटोबाट जानु भयो भने तपाईहरुले ठाउँ-ठाउँमा फ्लोर क्रस गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा खनालले नयाँ पार्टी गठन गर्ने आफूहरुको योजना सुनाउनु भएको हो । ‘हामीले त्यो अर्बिटबाट ऊ गरेर नेकपा एमाले क्रान्तिकारी भनेर अलिक भिन्न ढंगले पार्टी बनाउनुपर्ने अवस्था आयो भने त्यो पार्टीको त्यत्तिबेला जस्तो नीतिहरु बन्छन्, त्यो नीतिका आधारमा अगाडी बढ्छौं,’ खनालले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका खनालले संसदमा फ्लोर क्रस गर्न सक्ने संकेत पनि गर्नुभयो । ‘त्यस्तो परिस्थिति (ओलीविरुद्ध अविश्वासको प्रस्ताव) सकेसम्म नआओस भन्ने हाम्रो कोशिस हुन्छ । त्यो परिस्थिति आईहालेछ भने पार्टीभित्र छलफल गर्छौं’, खनालको भनाई थियो ।