काठमाडौं, बैशाख १३
सातोको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । हिजो पनि घटेको बजारमा आज समेत लगानीकर्ताको आत्मविश्वास फर्कन सकेको छैन । आज बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने संकेत देखिएको थियो । तर, त्यसपछि भने कुनै पनि समय बजार सुधार हुन सकेन ।
बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दा माथी नै रहेको छ । सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर किनबेच भएको छ । यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ । सोमबार सबै समूहका परिसूचकहरु राताम्य भए । सबैभन्दा बढी जलविद्युत र व्यापार समूहका लगानीकर्ताले बढी गुमाए ।
घटेको बजारमा पनि विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भने १० प्रतिशत हाराहारी बढेको छ । माछापुच्छ्रे बैक डेबेन्चर, गुडविल फाइनान्स र एसबीएल डेबेन्चरका लगानीकर्ताले समेत कमाए । रिलायन्स फाइनान्स, छ्याङदी हाइड्रोपावर, सिन्धु विकास बैंकका लगानीकर्ताले बढी गुमाए । सोमबार सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर ३१ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।













प्रतिक्रिया दिनुहोस्