जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १५:१९

मधेशमा कमजोर बने प्रचण्ड, प्रभु साहसँगै माओवादीबाट निर्वाचित अधिकांश प्रमुख–उपप्रमुख एमालेतिर


रौतहट, बैशाख १६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड तराई मधेसमा निकै कमजोर बनेको तथ्यले देखाएको छ । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मिसन चलाएको तथ्य तराई मधेशका जनताले बुझेपछि तात्कालिन माओवादी केन्द्रतिरका प्रभावशाली नेतासमेत प्रचण्डको बिरुद्धमा उभिएपछि माओवादी निकै कमजोर बनेको हो ।

प्रचण्डले रौतहट गृहजिल्ला भएका एमाले नेता माधवकुमार नेपालसँग मिलेर ओलीबिरुद्ध मिसन चलाउँदा रौतहटकै स्थानीय तहमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरु ओलीको पक्षमा लागेका छन । रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि एमालेमा लागेका हुन । रौतहटमा दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभावशाली नेता प्रभु साहसँगै एमाले बनेका हुन ।

माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहनुभएका मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाह सर्वाेच्चको फैसलापछि एमालेमै रहनु भएको छ । त्यस्तै मौलापुरका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहले पनि एमाले नै रोज्नुभएको छ ।

रौतहटमा माओवादी केन्द्रको ९० प्रतिशत हिस्सा प्रभु साहको व्यक्तिगत प्रभावमा थियो । सो शक्ति प्रभु साहसँगै एमाले भएको हो । माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुभएका मन्त्री प्रभु साहसहित सवैलाई एमाले प्रवेश गरेको भन्दै निष्काशन गरेको छ । निश्काशनसँगै रौतहटमा माओवादी अत्यन्तै कमजोर बनेको हो ।