जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार १९:०६

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त, एकल बहुमतमा पुग्यो एमाले


बुटवल, बैशाख १६ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी नीतिविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै आफ्ना चार सांसदलाई कारवाही गरेको छ । जसपाले उनीहरूलाई पार्टीको साधारण सदस्य साथै सांसदबाट समेत निस्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि लुम्बिनी प्रदेशसभा सचिवालयले आज चारै जना सांसदको पद रिक्त भएको जानकारी दिएको हो ।

यसरी पदमुक्त हुनेहरुमा मन्त्री नियुक्त हुनुभएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डे हुनुहुन्छ । आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले वैशाख ६ गते मन्त्री नियुक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेशसभामा कुल ८५ सांसद रहेकोमा जसपाका चार जना पदमुक्त भएससँगै एमालेको एकल बहुमत कायम भएको छ । यस प्रदेशमा एमाले ४१, कांग्रेस १९, माओवादी १८, जसपाका २, जनमोर्चाका १ सांसद रहेका छन । चार सांसद पदमुक्त भएपछि अव प्रदेशसभामा ८१ सदस्य कायम रहेका छन । यो घटनासँगै मुख्यमन्त्री शंकर पोखरेल फाल्ने खेल तुहिएको छ ।

यसैबीच आफ्ना चार सांसदलाई पदमुक्त गर्ने निर्णयमा जसपाको महन्थ ठाकुर पक्षको असहमति रहेको पाइएको छ । बाबुराम भट्टराई र उपेन्द्र यादवले पत्र पठाएर उनीहरूलाई कारवाही गरेको भन्दै ठाकुर पक्षले केन्द्रीय कार्यकारीणी समितिको बैठक नै नबसेको र आफूहरूको त्यसमा सहमति नभएको भन्दै अर्को पत्र पठाएको हो । तर प्रदेससभा सचिवालयले चार सांसद पदमुक्त भएको जानकारी दिइसकेको कारण अव कानूनी लडाई हुनसक्ने देखिएको छ ।