जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १६:५३

तुलसीपुर उपमहानगरको योजना : उच्च प्राथमिकतामा सडक, ज्येष्ठ नागरिकलाई तीर्थयात्रा


दाङ, जेठ २६

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार आगामी आर्थिक बर्षमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारिएको छ ।

‘यस वर्ष हामीले १५ किलोमिटर सडक कालोपत्रे गर्यौं, आगामी वर्ष सडक निर्माण वर्षका रुपमा योजना अगाडि सारेर ६० किलोमिटर सडक कालोपत्रे गर्ने छौैं,’ मेयर पाण्डेले भन्नुभयो । सडक नै समृद्धिको आधार भएको भन्दै सडकलाई प्राथमिकतामा दिईएको उहाँको भनाइ छ ।आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार शीर्षकमा दाङ तुलसीपुर १२ स्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना र धावन मार्ग विस्तारका लागि केन्द्रीय सरकारसँग बजेटको माग गर्ने उल्लेख गरिएको छ । साथै उपमहानगरपालिकाका सबै नागरिकमा विद्युत तथा वैकल्पिक ऊर्जा पुर्याउने, शहरी क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, ढल निकास तथा प्रशोधन केन्द्र स्थापना गर्ने नीति अघि सारिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै आगामी आवमा उपमहानगरपालिकाले सवारी साधनमा जिपिएस जडान गरिने, शहरी क्षेत्रमा एम्बुलेन्स, दमकल पुग्न सक्ने गरी संरचना निर्माण गर्ने, टोलस्टरका सडक ८ मिटर, दुई वा दुईभन्दा बढी टोल जोड्ने सडक १० मिटर र सोभन्दा बढी वडा जोड्ने सडक १२ मिटर हुनेुपर्ने मापदण्ड लागू गर्ने, तुलसीपुरको अरनिको खेल मैदान संरक्षण गर्ने, विद्युतीय सुरक्षामा ध्यान दिइने नीति अघि सारिएको छ ।

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

दाङको तुलसीपुर उपमहानगरपालिकाले आव ज्येष्ठ नागरिकलाई तीर्थयात्रा लैजाने भएको छ । नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर उपमहानगरपालिकाले ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेशका विभिन्न पर्यटकीय क्षेमा तीर्थयात्रा गराउने योजना अगाडि सारेको छ । त्यस्तैै उपमहानगरपालिकाले ६० वर्ष पुगेका सबै ज्येष्ठ नगारिकलाई परिचयपत्र वितरण गर्ने, ज्येष्ठ नागरिकलाई दिनभरको समयमा बस्नलाई दिवा सेवा केन्द्र स्थापना गर्ने नीति अघि सारेको हो ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी वर्ष उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसमा लैंगिक हिंसामा परेका महिलाहरुको उपचार, पुनःस्थापना र सुरक्षाका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँले उपमहानगरपालिकालाई सडक बालबालिका मुक्त बनाइने, अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गर्ने, नगर क्षेत्रलाई सडक मानवमुक्त बनाउने नीतिसमेत अघि सारेको छ ।