जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार १६:१७

सुवास नेम्वाङको ठोकुवा : बिमला ओली माओवादी प्रवेश गरेको पुष्टि भएमा सांसद पद जान्छ


काठमाडौं, बैशाख १९ । संबिधानसभा अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री ओली माओवादी प्रवेश गरे सांसद पद खारेज हुने प्रष्ट पार्नुभएको छ । सर्वाेच्च अदालतको फैसलापछि पनि ओली लगातार एमालेको बैठकमा सहभागी भइ हस्ताक्षर गरेको र एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्ताक्षरमा सूर्य चिन्हबाट जितेको कारण माओवादी प्रवेश गरे सांसद पद जाने ठोकुवा नेम्वाङले गर्नुभएको हो ।

सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिएसँगै उपचुनावमा जितेका जनप्रतिनिधिको हैसियत के हुने भन्ने विवादको न्यायिक निरुपण भइसकेको छैन । पार्टी साविकको ठाउँमा पुगेसँगै पूर्वमाओवादीहरू माओवादीतिरै र पूर्वएमालेहरू एमालेतिरै रहेका छन । नेकपाताका चुनाव जितेका नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, विद्या भट्टराईहरूसँगै बिमला पनि उपचुनावबाट निर्वाचित हुनुभएको हो । अहिले श्रेष्ठ माओवादीको प्रवक्ता हुनुहुन्छ भने विद्या भट्टराई र विमला एमालेकै दलका बैठकमा सहभागी हुनुभएको थियो । नेम्वाङले विमला खत्री सूर्य चिन्हधारी सांसद रहेको र उनले फागुन २३ यता पनि लगातार एमाले संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको कुरा नै प्रमाणित तथ्य हुने प्रष्ट पार्नुभयो ।

‘उहाँले सूर्य चिन्हबाट, केपी ओलीको एकल हस्ताक्षरको टिकटबाट चुनाव जित्नुभएको हो । सूर्य चिन्ह धारक एमालेको संसदीय दलको बैठकमा निरन्तर उपस्थित भएर उहाँको हस्ताक्षर छ । यी सबै आधिकारिक कुरा स्थापित छन्, प्रष्टसँगै उहाँ सूर्यचिन्ह धारक सांसद हो,’ नेम्वाङले भन्नुभयो । नेम्वाङले उपचुनावमा जितेका अन्य जनप्रतिनिधिको हकमा जसले अन्यथा विवाद गर्छ त्यसको निरुपण अदालतले गर्ने भन्दै निरन्तर एमालेका बैठकमा सहभागी भएका सांसदको हकमा भने त्यही आधिकारिक दस्तावेज नै प्रमाण हुने उहाँको भनाई छ । विमला खत्रीले माओवादीको सदस्यता लिएको पुष्टि भएमा उहाँको पद रिक्त गराउन एमालेले प्रक्रिया अघि बढाउने जानकारी नेम्वाङले दिनुभयो ।